Rumpum Advertisement
Dazzu

एन्डोराको पोस्टमा पोर्चुगलको आधा दर्जन बढी गोल

एन्डोराको पोस्टमा पोर्चुगलको आधा दर्जन बढी गोल

विराटनगर, २७ कात्तिक । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पोर्चुगलले एन्डोरामाथि फराकिलो जित निकालेको छ । बुधबार राति भएको खेलमा पोर्चुगलले एन्डोरामाथि ७–० गोलको फराकिलो जित दर्ता गरेको हो ।

लिस्बोनस्थित स्टेडियो डा लुजमा भएको खेलमा पोर्चुगललाई जिताउन पाउलिन्होले दुई गोल गरे भने क्रिस्टियानो रोनाल्डो, पेड्रो नेटो, रेनाटो सान्चेस र जाओ फेलिक्सले समान एक–एक गोल गरे ।

पोर्चुगलले एउटा आत्मघाती गोल उपहारमा पाएको थियो । एन्डोराका इमिली गार्सियाले आत्मघाती गोल गरेका थिए ।

खेलको आठौं मिनेटमा नेटोले गोल गर्दै पोर्चुगललाई सुरुआती अग्रता दिलाए । २९औं मिनेटमा पाउलिन्होले गोल गरेपछि पहिलो हाफभरि पोर्चुगलले २–० गोलको अग्रता बनायो ।

५६औं मिनेटमा रेनाटोले रोनाल्डोको पासमा गोल गर्दै पोर्चुगलको अग्रता तेब्बर बनाए भने ६१औं मिनेटमा पाउलिन्होले गोल गर्दै पोर्चुगललाई ४–० गोलको अग्रता दिलाए ।

७६औं मिनेटमा गार्सियाले आत्मघाती गोल गरेपछि पोर्चुगलले आफ्नो अग्रता अझ फराकिलो बनाएको थियो । ८५औं मिनेटमा रोनाल्डोले र ८८औं मिनेटमा फेसलक्सले गोल गरेपछि पोर्चुगलले ७–० गोलको फराकिलो जित निकालेको हो ।

यससँगै रोनाल्डोले पोर्चुगलबाट सयौं खेल जितेका छन् । एन्डोरासँगको खेलमा वैकल्पिक खेलाडीका रूपमा मैदान प्रवेश गरेका उनले एक गोल र एक असिस्ट गरेका थिए ।