Rumpum Advertisement
Dazzu

जडिबुटी समृद्धिको आधार : मन्त्री घिमिरे

जडिबुटी समृद्धिको आधार : मन्त्री घिमिरे

विराटनगर, २६ कात्तिक । प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले जडिबुटी समृद्धिको आधार भएको बताएका छन् । प्रदेश स्वास्थ्य निर्देशनालयको आयोजनामा विराटनगरमा बुधबार सम्पन्न प्रदेशस्तरीय वार्षिक स्वास्थ्य समीक्षा तथा योजना तर्जुमा गोष्ठिमा उनले तीन प्रकृतिको वातावरणीय सन्तुलनका कारण नेपालमा जडिबुटीको भण्डार रहेको बताए ।

हिमाल, पहाड र तराईको जडिबुटी उत्पादन र प्रशोधन प्राथमिकतामा पर्नुपर्ने बताउँदै उनले आयुर्वेदको क्षेत्रमा प्रदेश १ अघि बढ्नसक्ने धेरै आधारहरू रहेको बताए । आयुर्वेदलाई तीनै तहको सरकारले प्राथमिकतामा राख्नुपर्ने मन्त्री घिमिरेको भनाइ छ ।

भारतमा उत्पादन हुने आयुर्वेद औषधिको तुलनामा ४० प्रतिशत नेपालमा रहेको उहाँले बताउँदै उनले कच्चा पदार्थ भारत र चीन गएर औषधि बनेर नेपाल आउने गरेको बताए ।

आयुर्वेद मौलिक पद्धति भएकाले यसको विकास र विस्तार आवश्यक रहेको र आयुर्वेद पद्धती पुस्तासँगै लोप हुँदै गएकाले यसको संरक्षण आवश्यक रहेको मन्त्री घिमिरेले बताए ।

प्रत्येक प्रदेशमा १–१ वटा वैद्यखाना आवश्यक रहेको बताउँदै उनले भने, ‘निजी क्षेत्रले पनि वैद्य खानातर्फ ध्यान दिन आवश्यक छ ।’ आयुर्वेदको संरचना टोल र वडामा विस्तार गर्न सके रोजगारी सिर्जना गर्न सकिने उनको भनाइ छ ।

जडिवुटी उत्पादन, प्रशोधन, थेरापी, योग प्रशिक्षकको माध्यमबाट जेष्ठ नागरिक, युवा युवती, पर्यटक आदिलाई सेवा प्रवाह गरी मुलुकमा समृद्धि कायम गर्नुपर्नेमा उनको जोड छ ।

सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेरले आयुर्वेद कार्यालयहरूले गुणस्तरीय सेवा प्रदान गरी जनतामा यसको महत्वका सम्बन्धमा सूचना प्रवाह गर्न आग्रह गरिन् ।