Rumpum Advertisement
Dazzu

प्रधानमन्त्रीले अनुगमन गरेकाे सडकको काम कछुवाको गतिमा

रानी किमाथांका जोड्ने सडकको १४ किलोमिटर ट्र्याक खोल्नै बाँकी

प्रधानमन्त्रीले अनुगमन गरेकाे  सडकको काम कछुवाको गतिमारानी किमाथांका जोड्ने सडकको १४ किलोमिटर ट्र्याक खोल्नै बाँकी

विराटनगर, २६ कात्तिक । भारतीय सीमावर्ती क्षेत्र रानी विराटगर–धरान–धनकुटा हुँदै उत्तरी नाका किमाथाङका जोड्ने उत्तरदक्षिण राजमार्ग त्रिदेशीय महत्वको सडक हो ।

हरेक निर्वाचनमा त्रिदेशीय व्यापारका लागि किमाथाङका विराटनगर सडक परियोजनाको मुद्दा उठ्छ । तर अढाई दशकयता उत्तर दक्षिण सडकको माग उठेपनि उत्तरी क्षेत्रमा ट्रयाक खोल्ने काम पूरा भएको छैन ।

उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरेका अनुसार विंस. २०५२–५३ सालबाट जोगवनी किमाथाङका सडक निर्माणका लागि निजी क्षेत्रले पहल गरिरहेको थियो । तत्कालीन संगठनका नेतृत्वमा रहेका महेन्द्र गोल्छा, किशोर प्रधानसहितको टोलीले त्रिदेशीय सडक सञ्जाल विस्तारका लागि सरकारलाई दबाव दिँदै आएपनि सरकारले २०६९ सालयता सडक सञ्जाललाई प्राथमिकतामा राखेको छ । प्रथमिकताको योजना भएपनि ट्र्याक खोल्ने काम पूरा भएको छैन ।

उत्तरदक्षिण कोशी राजमार्ग आयोजनाका प्रमुख गौतम श्रेष्ठका अनुसार संखुवासभाको उत्तरी क्षेत्रमा १४ किलोमिटर ट्र्याक खोल्ने काम बाँकी छ । सो क्षेत्रमा ट्र्याक खोल्ने जिम्मा सेनालाई दिइएको छ । सेनाले ट्र्याक खोले सडक सञ्जाल चीनसँग जोडिने उनले बताए । सेनाले काम सुरु गरेको क्षेत्र च्याम्ताङमा आज प्रधानमन्त्री केपी शर्मा ओली पुगेका छन् ।

ओलीले सडक निर्माण परियोजनाको अवस्था बुझेर गरी फर्किएका छन् । अनुगमनका क्रममा भौगोलिक कठिनाईका बारेमा ब्रिफिङ सुनेर फर्किएका छन् । आयोजना प्रमुख श्रेष्ठका अनुसार सेनालाई कामको जिम्मा दिएपनि लकडाउनका कारण प्रभावकारी रूपमा काम अघि बढेको छैन ।

‘कोरोना महामारीका कारण तीब्र गतिमा काम भएको छैन,’ उनले भने, ‘तर काम रोकिएको छैन्, थोरै जनशक्ति प्रयोग गरेर भएपनि काम भइरहेको छ ।’

आयोजनाले संखुवासभा खाँदबारीदेखि उत्तरतर्फको १६५ किलोमिटर क्षेत्रको काम गर्दैआएको छ । उनका अनुसार विराटनगरबाट खाँदबारीसम्म भने कालोपत्रे सडक छ ।

चर्चा धेरै काम सुस्त

विराटनगरसहित पूर्व क्षेत्रको व्यापार र विकासस“ग जोडिएको त्रिदेशीय सडक सञ्जालको चर्चा बढी भएपनि निर्माणको काम भने दु्रतगतिमा अघि बढेको छैन । विराटनगरबाट किमाथाङ्का सडकको लम्बाई ३९० किलोमिटर छ ।

उत्तरदक्षिण मार्गको रानीदेखि धरानसम्मको खण्डमा ६ लिनको निर्माण कार्य जारी छ । धरानदेखि खाँदबारीसम्म दुई लेनको साघुँरो सडक छ ।

रानी–विराटनगर–धरान परियोजना पाँच वर्षमा सक्ने भन्दै २०६९–२०७० मा सुरु भएको थियो । तर २०७७–७८ को सुरुआती अवस्थामा परियोजनाको काम लगभग ६५ प्रतिशत मात्रै सकिएको रानी विराटनगर–धरान ६ लेन परियोजना प्रमुख बद्रीप्रसाद शर्मा बताउँछन् । उनका अनुसार परियोजनाअन्तर्गत ४९ किलोमिटर क्षेत्रमा १९ वटा प्याकेज बनाएर ठेक्का लगाइएको छ ।

१९ प्याकेजमध्ये केहीको काम सकिने क्रममा रहेको र केही प्याकेजको काम सुरु गर्ने क्रममा छ । अब तीन वर्षको अवधिमा काम सक्ने योजना रहेको उनले बताए ।

सडक सञ्जाल विस्तारपछि सञ्चालनमा आए प्रदेश १ तीन देशको व्यापारीक ट्रान्जिट पोइन्ट बन्ने उद्योग संगठन मोरङका अध्यक्ष घिमिरे बताउँछन् । ‘भारत, बंगलादेश र भुटानको व्यापारका लागि ट्रान्जिट पोइन्ट बन्न सक्छ,’ उनी भन्छन्, ‘अहिले हामीले सामाग्री पठाउनु पर्दा कलकता पोर्ट हुँदै पठाउनु पर्छ । किमाथाङ्काबाट सिधै पठाउन सकियो भने चिनियाँ बजारमा प्रतिस्पर्धा गर्न पनि सक्छौं ।’

भारत र चीन जोडने सडकले पूर्वी नेपाल मात्र नभइ समग्र देशकै अर्थतन्त्रलाई चलयमान बनाउन भूमिका खेल्ने व्यावसायी सोम अधिकारी बताउँछन् । ‘किमाथाङका पारिपट्टी चीनले सडक सञ्जाल विस्तार गरिसकेको छ,’ उनले भने, ‘उत्तरतर्फको अधिकांश नाकामा हिउँ पर्छ । तर किमाथाङ्कामा हिउँले असर नगर्ने भएका कारण बाह्रै महिना आवतजावतमा समस्या हुँदैन ।’

सडक सञ्जाल विस्तार भए नेपाली उत्पादन छिमेकी बजार पुग्न सहज हुने भएकाले तातोपानी भन्सारको विकल्प बन्नसक्ने बताए । ‘उत्तरतर्फको नाका तातोपानीको विकल्प बन्न सक्छ किमाथाङ्का,’ उनले भने, ‘समयमा नै निर्माण सक्ने हो भने कृषि, पर्यटन र उद्योग क्षेत्र फस्टाउँछ ।’

भारत र चीन जोड्ने विराटनगर किमाथाङ्का छोटो सडक सञ्जाल हो । सडक निर्माण भए राज्यको आयस्तरमा वृद्धि हुँदा आन्तरिक उत्पादनले पनि बजारमा सहज हुने उनको भनाइ छ ।

सरकारले महत्वकांक्षी योजनाको रूपमा अघि सारको त्रिदेशीय सडकको विराटनगर रानीदेखि सुनसरीको इटहरी–धरानसम्म ६ लेनको बनाउने काम सुस्त गतिमा सञ्चालित छ । सरकारले विराटनगरदेखि सुनसरीको धरानसम्मको कुल ४९ किलोमिटर सडक ६ लेनको विस्तारका लागि कुल १० अर्ब ५८ करोड लागत स्टिमेट तयार पारेको थियो । तर समय गुज्रँदै गएका कारण लागत पनि बढ्ने उनले बताए ।