Rumpum Advertisement
Dazzu

यस्ता छन् अदुवा राखेको चिया पिउनुका बेफाइदा

यस्ता छन् अदुवा राखेको चिया पिउनुका बेफाइदा

विराटनगर, २६ कात्तिक । खास गरी जाडोको मौसममा अधिकांशलाई अदुवा राखेको चिया पिउन मन पर्छ ।

स्वाद भरिएको तथा औषधीय गुणका लागि प्रसिद्ध अदुवा स्वास्थ्य समस्याको उपचार गर्न सक्ने लोकप्रिय आयुर्वेदिक जडिबुटीको रुपमा समेत प्रयोग गरिन्छ । शरीरबाट विष निष्कासन गर्न, घाँटी दुखाइका लागि अदुवा सहयोगी हुन सक्छ । तर, अदुवाको अत्यधिक सेवनले धेरै साइड इफेक्टहरू निम्त्याउन सक्छ ।

झाडापखाला : अदुवाको अत्यधिक सेवनले झाडापखाला निम्त्याउन सक्छ ।

गर्भवतीका लागि हानिकारक : दिन प्रतिदिन निर्धारित मात्रा (१५०० मिलीग्राम) भन्दा धेरै अदुवाको सेवन गर्नाले गर्भ तुहुने सम्भावना बढ्छ । तसर्थ, गर्भावस्थामा अदुवाको सेवन नगर्ने तथा डाक्टरको परामर्शपछि मात्र यसको सेवन गर्न सकिन्छ ।

रक्तश्राव हुनसक्छ : अदुवासँग एन्टी–प्लेटलेट गुण हुन्छ । धेरै अदुवाले रक्तस्राव निम्त्याउँछ, विशेषगरी ल्वाङ वा लसुनको सेवन गरेमा समस्या थप बल्झिन सक्छ । अदुवाले रगत जमाउने कार्यमा हस्तक्षेप गर्छ, त्यसैले यदि रगत जमाउने वा अधिक रक्तश्राव हुने समस्या छ भने, अदुवाले यसलाई थप खराब बनाउन सक्छ ।

छाती पोल्ने समस्या हुने : अदुवाको सेवनले जलन तथा छाती पोल्ने समस्या निम्त्याउन सक्छ । अदुवामा हुने जिन्जरोलले पेटलाई अधिक एसिड उत्पादन गर्न दवाव पार्न सक्छ ।

रक्तचाप घटाउन सक्छ : धेरै अध्ययनका अनुसार अदुवाले रक्तचाप कम गर्न सक्छ । जुन उच्च रक्तचापको बिरामीमा राम्रो कुरा हो । तर, सामान्य वा कम रक्तचाप भएका व्यक्तिले अदुवा चिया सेवन गरेपछि हल्का टाउको दुखेको वा कमजोर महसुस गर्ने हुन सक्छ ।

कपाल बढ्नबाट रोक्छ : एक चिनियाँ अध्ययनले अदुवाको सेवनले कपालको वृद्धिमा प्रभाव पार्ने देखाएको छ । लामो कपालका लागि वा कपाल बढाउन संघर्ष गरिरहेकाले अदुवाको सेवन गर्नबाट जोगिनु पर्छ । जिन्जरोलले कपाल बढ्नबाट रोक्न सक्छ ।