Rumpum Advertisement
Dazzu

शेयर बजार उत्साहजनक

शेयर बजार उत्साहजनक

बुधबार पनि शेयर बजारमा परिसूचक नेप्से बढेको छ ।

नेप्से १ दशमलव ७२ प्रतिशत अर्थात् २८ दशमलब ८९ अंकले बढेर १ हजार ७ सय ६७ विन्दुमा पुगेको छ । सेन्सेटिभ परिसूचक पनि ५ दशमलव २३ अंकले बढेर ३ सय ३५ दशमलव ६२ अंकमा बन्द भएको छ ।

नेप्से परिसूचक बढ्नुमा बैंकिङ प्रणालीमा रहेको अधिक तरलतालाई प्रमुख कारणको रुपमा लिइएको छ । बैंकमा अधिक तरलता हुँदा ब्याजदर सस्तो भएको छ । सस्तो ब्याजदर भएकै कारण शेयर बजारमा राम्रो प्रभाव परेको देखिएको छ ।

अहिले बैंकिङ क्षेत्रमा निक्षेपको ब्याजदर ५ प्रतिशतभन्दा तल छ भने कर्जाको ब्याजदर पनि ८ प्रतिशतको आसपासमा छ । सस्तो ब्याजदरमा कर्जा पाउने भएपछि लगानीकर्ता उत्साहित भएका हुन् ।

यसबाहेक बैंक तथा वित्तीय संस्था लगायत नेप्सेमा सूचिकृत कम्पनीहरुले गत वर्षको नाफाबाट लाभांश घोषणा गरिरहेकाले त्यसको असर पनि बजारमा देखिएको छ ।

यस्तै चालु आर्थिक वर्षको पहिलो त्रैमासको बित्तीय विवरणहरु प्रकाशित भइराखेको र अधिकांश कम्पनीहरुको वासलात राम्रो देखिएपछि लगानीकर्ताले लगानी बढाएका छन् । त्यसैले बजारमा लगानी भित्रिँदा शेयरको माग बढ्न गएकाले परिसूचकमा पनि सकारात्मक असर परेको देखिन्छ ।

आज (बुुधबार) पनि बजारमा ४ अर्ब ९ करोड ९६ लाख ४ हजार ७ सय ४२ रुपैयाँ बराबरको १ कारोड २४ लाख २३ हजार ६ सय ५१ कित्ता शेयर खरिद–बिक्री भएको छ ।

कारोबारमा आएका समूहमध्ये फाइनान्स समूहबाहेकका सबै समूह बढेका छन् ।

सबैभन्दा धेरै व्यापार समूह ९ दशमलव ९९ प्रतिशतले बढेको छ । उत्पादन तथा प्रशोधन समूह ६ दशमलब २१ प्रतिशतले बढेको छ भने निर्जीवन बीमा समूह, म्युचुअल फण्ड र अन्य समूह ४ प्रतिशत बढीले बढेका छन् । बैंकिङ समूह पनि १ दशमलव १५ प्रतिशतले बढेको छ ।

बुधबार सबैभन्दा धेरै कारोबार नेपाल दुरसञ्चार कम्पनीको २५ करोड ९० लाख २८ हजार ९ सय ३० रुपैयाँको भएको छ । यस्तै हिमालयन डिस्टिलरीको शेयर कारोबार पनि १८ करोड ८६ लाख ४० हजार रुपैयाँ बढीको भएको छ ।

यसबाहेक १५ करोड रुपैयाँभन्दा बढीको शेयर कारोबार हुने कम्पनीहरुमा एनआइसी एसिया बैंक, नागरिक लगानी कोष, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी, नेपाल पुनर्बीमा कम्पनी रहेका छन् ।

यस्तै साल्ट ट्रेडिङ कर्पोरेसनको शेयर मूल्य सबैभन्दा धेरै १० प्रतिशतले बढेको छ ।

९ प्रतिशतभन्दा माथि शेयर मूल्य बढ्ने कम्पनीहरुमा लक्ष्मी इक्युटी फन्ड, नागरिक लगानी कोष, विशाल बजार कम्पनी, एनआईसी एसिया ग्रोथ फन्ड, सानिमा जनरल इन्स्योरेन्स कम्पनी लगायतका रहेका छन् । बजार बढे पनि आईसीएफसी फाइनान्स, सेन्ट्रल फाइनान्सलगायतका कम्पनीहरुको शेयर मूल्य भने घटेको छ ।