Rumpum Advertisement
Dazzu

नेयमारसँग रोनाल्डो साट्न चाहन्छ युभेन्टस

नेयमारसँग रोनाल्डो साट्न चाहन्छ युभेन्टस

विराटनगर, २६ कात्तिक । इटालियन क्लब युभेन्टसले आफ्ना स्ट्राइकर क्रिस्टियानो रोनाल्डोलाई ब्राजिलियन स्टार नेयमारसँग साट्न चाहेको बताइएको छ । इटालियन मिडिया ‘टुट्टोमेर्काटो’का अनुसार युभेन्टसले पोर्चुगिज स्टार रोनाल्डोलाई पेरिस सेन्ट जर्मेन (पीएसजी)का स्टार नेयमारसँग साट्ने चाहना व्यक्त गरेको हो ।

पाँच पटकका बालोन डी‘ओर विजेता रोनाल्डो सन् २०१८ मा स्पेनिस क्लब रियल मड्रिडबाट इटाली आएका हुन् । १०० मिलियन युरोमा ९ वर्षे रियल बसाइ बिट मार्दै इटाली आएका रोनाल्डोले युभेन्टसबाट ९४ खेलबाट ७१ गोल र १९ असिस्ट गरेका छन् ।

३५ वर्षीय रोनाल्डोले राम्रै प्रदर्शन गरिरहेको भए पनि युभेन्टसले उनलाई पीएसजीमा दिएर नेयमारलाई इटाली ल्याउन चाहेको खबरमा जनाइएको छ । आगामी सिजनमा रोनाल्डोसँग नेयमार साट्नेगरी युभेन्टसले पीएसजीलाई प्रस्ताव गरेको छ । अब, ऊ पीएसजीबाट सकारात्मक कदमको आशामा छ ।

रोनाल्डो र युभेन्टसबीच सन् २०२२ सम्मको सम्झौता छ । फ्रि ट्रान्सफरमा टुरिन छोड्नुभन्दा अगाडि ठूलो रकममा रोनाल्डोलाई बेच्ने दाउमा युभेन्टस रहेको बताइएको छ ।

कोरोना महामारीले क्लबमा परेको आर्थिक प्रभावका कारण उनलाई बेच्ने युभेन्टसको तयारी रहेको जनाइएको छ । रोनाल्डोलाई पारिश्रमिक दिन कठिन भएका कारण उनलाई अर्को समरमा बेच्ने तयारी युभेन्टसको छ ।

यता, नेयमारले पनि पीएसजीमा बस्ने मनसाय बनाए पनि फ्रेन्च च्याम्पियन क्लबले उनीसँग सम्झौता थप्न चाहेको छैन । बार्सिलोनाबाट विश्वकै महँगा खेलाडी बन्दै पेरिस आएका नेयमार र पीएसजीबीचको सम्झौता २०२२ मा सकिँदैछ ।

२०१९–२० को च्याम्पियन्स लिगमा पीएसजीलाई फाइनल पुर्‍याउन सफल उनी पेरिसमै बस्ने मनसायमा छन् । हाल नेयमारका प्रतिनिधि र पीएसजीबीच सम्झौता नवीकरण गर्ने विषयमा छलफल भइरहेको छ ।