Rumpum Advertisement
Dazzu

पोर्चुगल र एन्डोरा भिड्दै, रोनाल्डो मैदान उत्रिने सम्भावना

पोर्चुगल र एन्डोरा भिड्दै, रोनाल्डो मैदान उत्रिने सम्भावना

विराटनगर, २६ कात्तिक । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा आज पोर्चुगलले एन्डोरासँग खेल्दैछ । लिस्बोनस्थित स्टेडियो डा लुजमा हुने उक्त खेल नेपाली समयानुसार राति १ः३० बजे हुँदैछ ।

यूईएफए नेशन्स लिगको तयारीस्वरुप साविक विजेता पोर्चुगलले एन्डोरासँग खेल्न लागेको हो । पोर्चुगल नेशन्स लिगअन्तर्गत समूह ‘सी’को शीर्ष स्थानमा छ । उसले ४ खेलबाट १० अंक बनाएको छ ।

स्ट्राइकर क्रिस्टियानो रोनाल्डो एन्डोराविरुद्ध मैदान उत्रिने सम्भावना छ । गत आइतबार बेलुका सिरी ‘ए’ अन्तर्गत लाजियोसँगको खेलका क्रममा घाइते भएका उनी मंगलबार प्रशिक्षणमा फर्किएका छन् ।

साविकको विजेता युभेन्टस लाजियोसँग १–१ गोलको बराबरीमा रोकिँदा रोनाल्डो घाइते भएका थिए । खेलको ७६औं मिनेटमा रोनाल्डोले चोट बोक्दै मैदान छोडेका थिए । सो खेलमा चोट बोकेका रोनाल्डोले केही खेल गुमाउनसक्ने आँकलन गरिएको थियो ।

तर, ३५ वर्षीय रोनाल्डोले मंगलबार प्रशिक्षण गरेका छन् । रोनाल्डोले सामाजिक सञ्जालमार्फत प्रशिक्षणरत केही तस्बिर सार्वजनिक गर्दै राष्ट्रिय ड्युटीमा फर्किन पाउँदा खुशी लागेको बताएका छन् ।

यता, पोर्चुगलका प्रशिक्षक फर्नान्डो सान्टोसले पनि रोनाल्डोले बुधबार हुने खेल खेल्ने अपेक्षा गरेका छन् ।

एन्डाेरासँगकाे खेलपछि १४ नोभेम्बरमा नेशन्स लिगअन्तर्गत पोर्चुगलले फ्रान्ससँग खेल्दैछ भने त्यसको तीन दिनपछि क्रोएशियासँग खेल्नेछ ।

मैत्रीपूर्ण खेलअन्तर्गत आज फ्रान्स, बेल्जियम, स्वीट्जरल्याण्ड, जर्मनी, स्पेन, नेदरल्याण्ड्स इटाली पनि प्रतिस्पर्धामा छन् । फ्रान्सले राति १ः५५ बजे फिनल्याण्डसँग खेल्दैछ भने बेल्जियम र स्वीट्जरल्याण्डले १ः३० बजे खेल्दैछन् ।

सोही समय नेदरल्याण्ड्स र स्पेन एक–अर्काविरुद्ध भिड्दैछन् भने जर्मनीले चेक रिपब्लिकसँग राति १ः३० बजे नै खेल्दैछ । सोही समय इटाली र स्टोनियाले खेल्दैछन् ने स्वीडेन र डेनमार्कबीचको खेल राति १२ः१५ बजेबाट सुरु हुनेछ ।