Rumpum Advertisement

निको भएर पुनः संक्रमित हुने सम्भावना कति ?

निको भएर पुनः संक्रमित हुने सम्भावना कति ?

विराटनगर, २६ कात्तिक । कोरोना भाइरस मानिसका लागि पूर्णरूपमा नयाँ संक्रमण हो ।

महामारीको सुरूमा कसैमा पनि भाइरसविरुद्धको प्रतिरोध क्षमता थिएन, तर जीवनलाई सामान्य अवस्थामा फर्काउन प्रतिरोधात्मक क्षमता नै महत्वपूर्ण हुन्छ । अध्ययनले कोरोना भाइरसलाई लक्षित गर्नसक्ने एन्टिबडी बनाउन सुरु गर्न करिब १० दिन जति लिने गरेको छ र अन्यको तुलनामा गम्भीर बिरामीले सबभन्दा बलियो प्रतिरक्षा प्रतिक्रिया विकास गर्ने देखिएको छ ।

एन्टिबडीको विकास भए पनि दोस्रो पटक कोरोना भाइरसबाट संक्रमित हुन सक्ने देखिएको छ । हङकङका तथा अमेरिकालगायतका केही ठाउँमा सुरुवात संक्रमणको केही महिनापछि दोस्रो पटक कोरोना भाइरसबाट संक्रमित भएको रिपोर्ट गरिएको थियो । दुई भाइरसको जेनेटिक कोडलाई अध्ययन गरेपछि पहिलो संक्रमण पुनः बल्झिएकोभन्दा पनि दोस्रो पटक संक्रमित भएको वैज्ञानिकको टोलीले निष्कर्ष निकालेको हो ।

स्वास्थ्य विशेषज्ञ सामान्यतया कोभिड भएका मानिसलाई संक्रमणको विरूद्ध केही प्रतिरक्षा हुनेछ भन्ने विश्वास गर्छन् । तर, लक्षण कम भएका वा नभएकामा प्रतिरोधात्मक क्षमता विकास हुन्छ वा हुँदैन तथा सुरक्षा कति लामो समयसम्म रहन्छ भन्ने थाहा भएको छैन । पुनः संक्रमणको केस निकै दुर्लभ हुन्छन् र यो किन हुन सक्छ भनेर बुझ्नका लागि ठूला अध्ययनहरू आवश्यक छन् ।

सार्स कोभ २ को रोग प्रतिरोधक क्षमता कति लामो हुन्छ भनेर जान्नका लागि धेरै समय र अध्ययन भएको छैन, तर त्यहाँ अन्य छवटा मानव कोरोना भाइरस छन् जसले एउटा संकेत दिन सक्छ । छमध्ये चारले सामान्य चिसोका लक्षण देखाउने गर्छन् र प्रतिरक्षा अस्थायी हुन्छ । अध्ययनले देखाएअनुसार केही बिरामी एक वर्षभित्र नै पुनः संक्रमित हुन सक्छ ।

किंग्स कलेज लन्डनमा गरिएको अनुसन्धानले कोरोना भाइरसलाई मार्ने एन्टिबडीहरूको स्तर तीन महिनापछि कम हुँदै गएको देखाएको थियो । साथै, प्रतिरोधक क्षमता हराउँदै जाने भए, यसले खोपका लागि चुनौती निम्त्याउन सक्छ । केही विज्ञका अनुसार हरेक वर्ष खोपको बुस्टर सट लिन आवश्यक पर्न सक्छ ।

एन्टिबडी हराए पनि तिनलाई निर्माण गर्ने बी सेल अझै पनि शरीरभित्रै हुन सक्छ । स्पेनिस फ्लूको बी सेल मानिसमा ९० वर्षपछि पनि फेला परेको छ । यदि कोभिडमा पनि यस्तै भयो भने, दोस्रो संक्रमण पहिलोभन्दा हल्का हुनेछ ।

पहिलो संक्रमणले भविष्यमा हुने संक्रमणबाट बचाउने छ भन्ने ग्यारेन्टी हुँदैन । साथै पुनः संक्रमित व्यक्तिले अरूलाई भाइरस सार्न सक्षम हुनेछन् व छैनन् भन्ने पनि अस्पष्ट छ । त्यसैले, संक्रमणमुक्त भए पनि समाजिक दुरी अपनाउने, मास्क लगाउने, नियमितरुपमा हात धुने, सरसफाइमा ध्यान दिने जस्ता सतर्कता अपनाइरहनु पर्छ ।

प्रतिक्रिया

  1. धन्यवाद जानकारीका लागि,म पनि भदौ ३१ गते पहिलो पटक संक्रमित भएको थिए फेरि कात्तिक १३ देखि पुनः लक्षेन सहितको संक्रमित भयकाे छु,मेरो अनुभव एस्तै हुन्छ भन्ने छैन यो भाइरस मा।

प्रतिकृया दिनुहोस्:

तपाईको ईमेल गोप्य राखिनेछ