Rumpum Advertisement
Dazzu

सामाजिक आइसोलेसनले वृद्ध र मध्यम उमेरका महिलामा उच्च रक्तचापको जोखिम निम्त्याउने

सामाजिक आइसोलेसनले वृद्ध र मध्यम उमेरका महिलामा उच्च रक्तचापको जोखिम निम्त्याउने

विराटनगर, २६ कात्तिक । साथी तथा परिवारको अभाव र सामाजिक गतिविधिमा भाग लिन नसक्दा उच्च रक्तचापको जोखिम निम्त्याउन सक्ने अध्ययनले देखाएको छ ।

विशेष गरी पुरुषमा भन्दा महिलामा, सामाजिक आइसोलेसनका कारण उच्च रक्तचापको जोखिम बढ्ने देखिएको हो । सामाजिक आइसोलेसनमा एक व्यक्तिले शारीरिकरूपबाट आफूलाई बाँकी संसारबाट अलग राख्न दूरी बनाउने गर्छ । हाइपरटेन्सन नामक जर्नलमा प्रकाशित रिपोर्टले उच्च रक्तचाप र सामाजिक आइसोलेसन बीच सम्भावित सम्बन्ध हुने देखाएको हो ।

क्यानाडाको ब्रिटिस कोलम्बिया विश्वविद्यालयका अन्वेषकद्वारा गरिएको अध्ययनमा ४५ देखि ८५ वर्ष उमेरका २८ हजारभन्दा बढी महिलाको सामाजिक सम्बन्धको विश्लेषण गरिएको थियो । अवलोकनअनुसार एक महिनामा तीनभन्दा कम सामाजिक गतिविधिमा सहभागी भएका वा थोरै सामाजिक नेटवर्क भएका (८५ भन्दा थोरै) अविवाहित वा एकल महिलामा उच्च रक्तचापको जोखिम उच्च थियो ।

विधवा, एक्लो बस्ने वा समाजमा निष्क्रिय रहेका महिलामा रक्तचाप सबभन्दा बढी थियो । सबै अन्य महिलाको तुलनामा, विधवा महिलामा उच्च रक्तचाप हुने सम्भावना उच्च देखिएको थियो । तर, अविवाहित वा सम्बन्धविच्छेद भएका महिलाको उच्च रक्तचापको जोखिम सामाजिक सहभागिताको स्तरमा वृद्धि भए ह्रास आउने छ ।

युएस नेशनल इन्स्टिच्युट अन एजिङ (एनआईए) द्वारा प्रशासित एक अध्ययनअनुसार, सामाजिक आइसोलेसनले उच्च रक्तचापका साथै मोटोपना, चिन्ता, डिप्रेसन, कमजोर प्रतिरक्षा प्रणाली र अन्य स्वास्थ्य जोखिमको खतरा निम्त्याउन सक्छ ।