Rumpum Advertisement
Dazzu

तिहारमा यसरी बनाउनुहोस् फिनी रोटी

तिहारमा यसरी बनाउनुहोस् फिनी रोटी

विराटनगर, २६ कात्तिक । नेपालीहरुको दोस्रो ठूलो चाड तिहार नजिकिएको छ ।

तिहारलाई परिवारसँग मिलेर विभिन्न खानाको परिकार बनाएर खाने पर्वको रूपमा पनि मनाउने गरिन्छ । तिहारमा अन्य परिकारभन्दा रोटीका थरीथरी परिकारहरू बनाएर खाने प्रचलन छ । ठाउँ, परिवेश, जातजातिअनुसार आ–आफ्नो तरिकाले खानाका परिकार बनाउने प्रचलन छ । तिहारमा सेलरोटी र अनरसापछि प्रचलित फिनी रोटी हो ।

फिनी रोटीलाई विशेष तिहारमा मात्र पकाएर खाने चलन छ । फिनी रोटीलाई मैदाको पिठोमा घ्यूको मिश्रणबाट तयार पारिन्छ । मैदाको पिठोबाट तयार पारिएको फिनीको परिकार जोकोहीको पनि मनपर्ने रोटीको परिकारमध्ये एक हुन सक्छ । घ्यूको स्वाद मन पराउनेका लागि फिनी मनपर्ने परिकार हो ।

फिनी रोटीलाई घरमा सजिलैसँग तयार गर्न सकिन्छ ।

फिनी रोटी बनाउन चाहिने आवश्यक सामग्री : आवश्यकताअनुसार मैदा, घ्यू, चामलको पिठो, तेल ।

फिनी रोटी बनाउने तरिका : आवश्यकताअनुसार मैदालाई मुछ्ने । त्यसपछि रोटी बनाउन प्रयोग गरिने पिठोको डल्लालाई मजाले माड्ने । माडिएको मैदाको डल्लो नरम भएपछि फिनी बनाउन तयार हुन्छ । तयार भएको पिठोलाई एकछिन छोपेर राख्ने । यसरी राख्दा पिठो नरम हुन्छ । फिनी बनाउन पिठो निकै नरम हुनु पर्छ ।

चामललाई एक घन्टा पानीमा भिजाएर राख्ने । भिजेको चामललाई मसिनो पारेर पिँध्ने । पिँधेको चामलको पिठोलाई छानेर अझ मसिनो पिठो छुट्याउने । छुट्याइएको चामलको पिठोलाई घ्यूमा मुछ्ने । घ्यू र चामलको पिठो मुछेर पेस्ट बनाउने । उक्त पेस्टलाई ‘साँठो’ भनिन्छ । त्यसपछि, तयार पारिएको मैदाको पिठोलाई राम्रोसँग बेल्ने ।

बेलेको रोटीमा घ्यू र चामलको पिठोबाट तयार पारिएको ‘साँठो’ लाई राम्रोसँग लगाउने । बेलिएको रोटीमा बराबरी साँठो लगाएपछि बिस्तारै रोल गर्ने । र, गोलाकार बेलिएको पिठोलाई स–सानो डल्ला पारेर काट्ने । काटिएको पिठोको डल्लालाई बेल्ने । बेलेर तयार गरिएको रोटी पत्र–पत्र भएर छुटिन्छ । बेलेको रोटीमा चक्कुको सहायताले दुई–तीन लाइन बनाउने । त्यसपछि तातो तेलमा फ्राई गर्ने ।

तेलमा फ्राई गर्ने समयमा डाडुको सहयताले माथिबाट तेल राख्दै चलाएमा रोटी थप फुल्ने हुन्छ । अब यो खान तयार भयो ।