Rumpum Advertisement
Dazzu

‘विप्लव’को नाममा तीन करोड चन्दा माग्दा …

‘विप्लव’को नाममा तीन करोड चन्दा माग्दा …

विराटनगर, २६ कात्तिक । प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका नाममा धम्क्याएर चन्दा संकलन गर्न खोज्ने चार जना काठमाडौंबाट पक्राउ परेका छन् ।

महानगरीय अपराध महाशाखाको टोलीले नुवाकोट घर भएका बिन्तोष सिलवाल, रामेछाप घर भएका रामदल श्रेष्ठ उर्फ अटल, काभ्रेका तीर्थमान तामाङ र चितवनका नन्दुराज आचार्यलाई पक्राउ गरेको हो । ४२ वर्षीय आचार्य कानुन व्यवसायी हुन् ।

सो समूहले कन्सल्टेन्सी संचालकसँग तीन करोड चन्दा मागेको महानगरीय अपराध महाशाखाका प्रहरी बरिष्ठ उपरिक्षक (एसएसपी) दीपक थापाले बताए । रामेछापको सुनापती घर भएका ३१ वर्षीय रामदल श्रेष्ठ ‘अटल’ विप्लव समूह रामेछापका पूर्व जिल्ला सेक्रेटरी हुन् । अहिले आफूले सो समूह परित्याग गरेको प्रहरीलाई बताएका छन् । कानुन व्यवसायी समेत रहेका ४२ वर्षीय आचार्यले ‘विप्लव समूह हौं’ भनेर तीन करोड चन्दा नदिए कन्सल्टेन्सी संचालकलाई ‘दुई दिनमा सिध्याउने’ धम्की दिएको प्रहरीले जनाएको छ ।

बिन्तोष सिलवाललाई नुवाकोटमा डोजर आगजनी गरेको मुद्दामा प्रहरीले यसअघि पनि पक्रेको थियो । यसअघि आफूहरु विप्लव समूहको कार्यकर्ता भए पनि अहिले सो समूह छाडेको प्रहरीलाई उनीहरुले साविती बयान दिएका छन् । उनीहरुलाई ‘आपराधिक लाभ’ लिन खोजेको मुद्धामा अदालतबाट तीन दिनको म्याद लिएर महानरीय प्रहरी परिसर काठमाडौंले थप अनुसन्धान गरिरहेको छ ।