Rumpum Advertisement
Dazzu

प्रधानमन्त्री ओली आज संखुवासभा पुग्दै, यस्तो छ कार्यतालिका

प्रधानमन्त्री ओली आज संखुवासभा पुग्दै, यस्तो छ कार्यतालिका

विराटनगर, २६ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओली आज (बुधबार) संखुवासभा जिल्ला पुग्दैछन् ।

सत्तारुढ नेकपाभित्र आन्तरिक विवाद चर्किरहेको अवस्थामा ओलीले एक दिने भ्रमण तालिकासहित संखुवासभाको यात्रा तय गरेका हुन् । दोस्रो पटक मृगौला प्रत्यारोपणपछि ओली काठमाडौं बाहिर निस्किएका थिएनन् । मृगौला प्रत्यारोपणपछि उनी पहिलो पटक काठमाडौं बाहिर निस्कन लागेका हुन् ।

संखुवासभामा प्रधानमन्त्री सहभागी हुने तीनवटा कार्यक्रम तय भएको छ । संखुवासभाका प्रमुख जिल्ला अधिकारी जीवन आचार्यका अनुसार पहिलो कार्यक्रम भोटखोला गाउँपालिका– १ किमाथांकामा राखिएको छ । दोस्रो कार्यक्रम भोटखोला –३ च्याम्ताङमा छ । तेस्रो कार्यक्रम भने मकालु गाउँपालिका– ५ फ्याक्सिन्दामा राखिएको आचार्यले बताए ।

ओलीले किमाथांकामा सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट (वीओपी) को निरीक्षण तथा स्थानीय जनप्रतिनिधिसँग छलफल गर्नेछन् । त्यसपछि च्याम्ताङ पुग्नेछन् । च्याम्ताङमा निर्माणधिन विराटनगर–किमथाङका रोडको निरीक्षण गर्ने कार्यक्रम तय भएको छ । च्याम्ताङमा पनि स्थानीय र जनप्रतिनिधिसँग पनि छलफल गर्नेछन् ।

दिउँसो १ः३० बजे च्याम्ताङबाट प्रधानमन्त्री ओली अरुण तेस्रो जलविद्युत आयोजनाको ड्यामको निर्माणस्थल फ्याक्सिन्दा पुग्नेछन् । ड्यामको निरीक्षणपछि प्रधानमन्त्रीले निर्माणको प्रगतिका बारेमा ब्रिफिङ लिनेछन् । राष्ट्रिय गौरवको आयोजना अरुण तेस्रोको ड्याम स्थलमा प्रधानमन्त्री ओलीले दुई घण्टा बिताउनेछन् ।

स्थानीय जनप्रतिनिधिसँगको छलफलपछि जिल्लाको शान्ति सुरक्षाको अवस्थाको ब्रिफिङ सुनेर दिउँसो ३ः३० मा प्रधानमन्त्री ओली काठमाडौं फर्कने कार्यक्रम रहेको तय भएको जानकारी प्रमुख जिल्ला अधिकारी आचार्यले दिए ।