Rumpum Advertisement
Dazzu

बिहारमा एनडीए गठबन्धनलाई बहुमत

बिहारमा एनडीए गठबन्धनलाई बहुमत

विराटनगर, २६ कात्तिक । बिहार विधानसभा निर्वाचनको मतपरिणामबाट एनडीएले एक सय २५ सिट जितेको छ । एक सय २५ सिटमा जित हात पारेसँगै एनडीएलाई बहुमत प्राप्त भएको छ ।

बिहारमा विधानसभा सरकार बनाउन एक सय १२ सिट आवश्यक पर्छ । बिहारमा दुई सय ४३ सदस्यीय विधानसभा छ । विधानसभाको निर्वाचनबाट बहुमत प्राप्त गरेको एनडीएलाई पुनः एक कार्यकाल सरकार बनाउने जनादेश प्राप्त भएको छ ।

एनडीएलाई टक्कर दिएको महागठबन्धनले एक सय १० सिट मात्रै जितेको छ । महागठबन्धनको नेतृत्व गरेको राष्ट्रिय जनता दल (राजद) ७५ सिटमा विजयी हुँदै बिहारको सबैभन्दा ठूलो पार्टी बनेको छ । एनडीए गठबन्धनमा आबद्ध भारतीय जनता पार्टी (भाजपा)ले ७४ सिट जितेको छ । सन् २०१५ मा राजदले ८० र भाजपाले ५३ सिट जितेका थिए ।

यस चुनावमा मुख्यमन्त्री नितिश कुमारको पार्टी जनता दल युनाइटेड .(जदयु)ले ४३ सिट जितेको छ । यसअघि सन् २०१५ मा ७१ सिट जितेको थियो ।

यसैगरी सन् २०१५ मा २७ सिट जितेको कांग्रेसले यस पटक १९ सिट जितेको छ । सांसद असदुद्दीन ओवेसीको पार्टी अल इन्डिया मजलिस–ए–इत्तेहादुल मुस्लिमिनले पाँच सिट जितेको छ । चिराग पासवानको लोक जनशक्ति पार्टी (एलजेपी) र बहुजन समाज पार्टीले एकएक सिट जितेका छन् । एक स्वतन्त्र सांसद विजयी भएका छन् ।

लोकतन्त्रको जित : मोदी
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले बिहारको चुनावी नतिजालाई लिएर फेरि लोकतन्त्रको जित भएको उल्लेख गरेका छन् । बिहारका जनताप्रति आभार व्यक्त गरेर धन्यवाद दिँदै उनले जनादेशको सबैले सम्मान गर्नुपर्ने बताए ।

जनादेशलाई उनले आत्मनिर्भर बिहारको नयाँ रोडम्यापको संज्ञा दिएका छन् । उनले उल्लेख गरेका छन् , ‘यो नयाँ दशक बिहारको हुने छ र आत्मनिर्भर बिहार त्यसको रोडम्याप हुने छ ।’ मोदीले बिहारका जनताले दुनयाँलाई लोकतन्त्रको पाठ पढाएको दाबी गरे । बिहारका गरिब, बन्चित र महिलाहरुले पनि ऐतिहासिक मतदान गरे र विकासका लागि आफ्नो निर्णायक फैसला पनि सुनाएको उनको जिकिर छ ।