Rumpum Advertisement
Dazzu

दिल्लीलाई हराउँदै मुम्बईले जित्यो आईपीएलको उपाधि

दिल्लीलाई हराउँदै मुम्बईले जित्यो आईपीएलको उपाधि

विराटनगर, २६ कात्तिक । मुम्बई इन्डियन्सले यूएईमा सम्पन्न १३औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल)को उपाधि जितेको छ । मंगलबार राति फाइनल खेलमा दिल्ली क्यापिटल्सलाई ८ विकेटले हराउँदै मुम्बईले उपाधि जितेको हो ।

दुबई रंगशालामा दिल्लीले दिएको १५७ रनको लक्ष्य पछ्याएको मुम्बईले १८.४ ओभरमा पाँच विकेट गुमाउँदै पूरा गर्‍यो । मुम्बईका लागि कप्तान रोहित शर्माले ६८ रनको अर्धशतकीय इनिङ्स खेले ।

इशान किशनले ३३ रन बनाउँदा क्वीन्टन डी ककले २० तथा सूर्यकुमार यादवले १९ रन जोडे ।

दिल्लीका एनरिच नोर्त्जेले २ विकेट लिँदा कागिसो रबाडा र मार्कुस स्टोइनिसले १–१ विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभर खेल्दा ७ विकेटको क्षतिमा १५६ रन बनाएको थियो ।

दिल्लीका लागि कप्तान श्रेयस ऐयर र रिषव पन्तले अर्धशतकीय इनिङ्स खेलेका थिए । श्रेयसले अजिवित ६५ रन बनाउँदा रिषवले ५६ रन बनाएका थिए ।

यसैगरी शिखर धवनले १५ रन बनाउँदा सिम्रोन हेटमेयर ५ रनमा आउट भएका थिए । अक्षर पटेलले ९ रन बनाउँदा अजिन्क्या रहाने २ रनमै आउट भएका थिए । मार्कुस स्टोइनिस शून्य रनमै पेभिलियन फर्किएका थिए ।

मुम्बईका ट्रेन्ट बोल्टले ३ विकेट लिँदा नाथन कोल्टर–निलेले २ तथा जयन्त यादवले १ विकेट झारेका थिए ।

यससँगै मुम्बई पाँचौं पटक आईपीएल च्याम्पियन बनेको छ । यस्तै मुम्बईले लगातार दोस्रो पटक आईपीएल उपाधि जितेको छ ।

आईपीएलको इतिहासमा पहिलोपल्ट फाइनल पुगेको दिल्ली भने निराश बन्यो । यसैगरी नेपाली लेग स्पीनर सन्दीप लामिछानेले यो संस्करणको आईपीएल खेल्न पाएनन् ।