Rumpum Advertisement
Dazzu

ताप्लेजुङमा पर्वतारोहण विषयको अध्यापन सुरु

ताप्लेजुङमा पर्वतारोहण विषयको अध्यापन सुरु

ताप्लेजुङ, २५ कात्तिक । ताप्लेजुङको मैवाखोला गाउँपालिकाको नारायणी माध्यमिक विद्यालयमा पर्यटन तथा पर्वतारोहण विषयको अध्यापन सुरु भएको छ । सोमबार संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले मंगलबार सो विद्यालयमा पर्यटन तथा पर्वतारोह विषयको अध्यापन शुभारम्भ गरे ।

शुभारम्भपछि उनले हिमाल आरोहणमा बढी चासो राख्ने क्षेत्रमा पर्यटन पढाई सुरु गरेको बताए । मन्त्री भट्टराईले विश्व पर्यटनको केन्द्रमध्ये नेपाल पनि एक भएकोले यहाँको पर्यटन प्रवर्द्धनसँगै विकास गर्नका लागि पर्यटन शिक्षा आजको आवश्यकता भएको बताए ।

यसैगरी उनले नेपालमा हिमाल आरोहण गर्नका लागि बर्सेनि हजारौं मानिस विदेशबाट आउने र स्वदेशी पनि हिमाल चढ्ने हुँदा आवश्यक पर्ने दक्ष जनशक्ति उत्पादनको लागि पर्यटन विषय अध्यापन सुरु गरिएको बताए ।

यसैगरी मन्त्री भट्टराईले मदन भण्डारी राजमार्गलाई आगामी दुई वर्षभित्रमा कालोपत्रे गर्ने बताएका छन् । जिल्लाका आठवटै स्थानीय तहमा पुगेर जनतासँग प्रत्यक्ष भेटघाट गर्ने कार्यक्रमअन्तर्गत आज मैवाखोला गाउँपालिकामा आयोजित अन्तर्क्रिया कार्यक्रममा मन्त्री भट्टराईले यसै वर्षदेखि दुईतर्फबाट राजमार्गको कालोपत्रे गर्ने काम सुरुआत गरिने बताए ।

मित्रराष्ट्र चीनसँग नौ वटा नाका खुल्ने अघिल्लो वर्षमै सम्झौता भइसकेकाले तमोर कोरिडोरले तीव्रता पाउँदै जाने उनको भनाइ छ ।