Rumpum Advertisement
Dazzu

प्रदेश १ मा ५ सय बेड थपिँदै

प्रदेश १ मा ५ सय बेड थपिँदै

विराटनगर, २५ कात्तिक । प्रदेश १ सरकारले कोरोना संक्रमितको उपचारका लागि ५ बेड थप गर्ने तयारी गरेको छ । प्रदेशभरि अक्सिजन, आईसियू र भेन्टिलेटरसहितका बेड थप गर्ने सरकारले तयारी गरेको सामाजिक विकास मन्त्री जीवन घिमिरेले बताए ।

प्रदेशस्तरीय स्वास्थ्य कार्यालयहरूको वार्षिक स्वास्थ्य समीक्षा तथा योजना तर्जुमा गोष्ठि कार्यक्रममा मंगलबार मन्त्री घिमिरेले कोरोना संक्रमितले अक्सिजन, आईसियू र भेन्टिलेटरको खोजी गर्न थालेको बताए ।

प्रदेश सरकार परिस्थितिको मागअनुसार अघि बढेको भन्दै उनले प्रदेशभरि ५ सय बेड विस्तार गर्ने तयारी गरिएको उनले बताए । कोरोना संक्रमण एकनास नभएकाले संक्रमणको अवस्थाअनुसार योजना बनाउन स्वास्थ्य कार्यालयका प्रमुखहरूलाई उनले निर्देशन दिए ।

मन्त्री घिमिरेले भने, ‘तेह्रथुमको आठराई र विराटनगरमा संक्रमणको अवस्था फरक छ ।’ अवको चुनौतिलाई सामना गर्न स्थान विशेषको कोरोना नियन्त्रणको नीति बनाउन आवश्यक रहेको उनको भनाइ छ ।

कोरोना संक्रमणको कारण विश्व स्वास्थ्य संगठन र स्वास्थ्य मन्त्रालयले भनेजस्तो भन्दापनि स्थानीयस्तरको अवस्थाबारे पनि खोजी गर्न आवश्यक रहेकोमा उनको जोड छ । कोरोना संक्रमण नियन्त्रणका लागि सर्वसाधारणले सरकारी प्रोटोकल पालना नगरेकोप्रति उनले गुनासो गरे ।

कार्यस्थलमा स्वास्थ्य सावधानी अपनाएको नपाइएको मन्त्री घिमिरेले बताए । समीक्षा कार्यक्रममा मन्त्री घिमिरेले निजी अस्पतालको स्वीकृति र नियमनमा स्वास्थ्य कार्यालय प्रमुखहरूले ध्यान दिनुपर्ने बताए ।

स्वीकृति दिँदा मापदण्डअनुसार भए–नभएको हेर्ने र अनुगमनको काम स्वास्थ्य कार्यालयले गर्नुपर्ने बताए ।