Rumpum Advertisement
Dazzu

भक्तपुरमा विश्वकै ठूलो त्रिशूल निर्माण हुने

भक्तपुरमा विश्वकै ठूलो त्रिशूल निर्माण हुने

भक्तपुर, २५ कात्तिक । भक्तपुरको चागुँनारायण नगरपालिकामा विश्वकै अग्लो त्रिशूल स्थापना हुने भएको छ । महाँकाल त्रिशूलडाँडा उपभोक्ता विकास समितिले चागुँनारायण नगरपालिका-५ स्थित धार्मिक महत्वको दोलागिरी पर्वतमा अवस्थित मुलकोटगढी महाँकाल त्रिशूलडाँडामा विश्वकै अग्लो त्रिशूल स्थापना गर्न लागेको हो ।

समितिले त्रिशुलको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भएको जानकारी नगरपालिकालाई समेत गराएको छ । कुल २ करोड ७० लाख रुपैयाँ लागतमा विश्व शान्ति राष्ट्र कल्याण हेतुले निमार्ण हुन लागेको त्रिशुलको लम्बाई जमिनको सतहबाट एक सय फिट उचाईको हुनेछ भने जमिनमुनि करिब साढे आठ फिट हुने छ ।

भित्री भागमा फलाम र बाहिरी भागमा तामाको धातुले निर्माण हन लागेको त्रिशूलको तल्लो भागमा करिब १ सय ५० जनासम्म अट्नसक्ने ध्यान केन्द्रसमेत निर्माण हुने समितिका अध्यक्ष श्रीकृष्ण खड्काले जानकारी दिए ।

उनले पृथ्वीनारायण शाहले काठमाडौँ उपत्यकामाथि आक्रमण गर्ने क्रममा सो स्थानमा मूल गढी भएको कारण पनि मुलकोटगढी सांस्कृतिक र धार्मिक एवं ऐतिहासिक महत्वको भएको बताए ।

उनले मुलकोटगढी महाँकालमा विश्व कै अग्लो त्रिशूल स्थापना भएपछि पर्यटन प्रवर्द्धनमा सहयोग पुग्नेसमेत बताए ।

चागुँनारायण नगरपालिकाका मेयर सोमप्रसाद मिश्रले मुलकभर बढ्दो क्रमममा रहेको कोरोना भाइरसको जोखिकका कारण नगरपालिकाले मठ, मन्दिर, पाटी पौवालगायत निर्माण गर्नेभन्दा पनि स्वास्थ्य पूर्वाधार निमार्णमा जोड दिएको बताए ।

यद्दपि, मिश्रले कोरोना भाइरस संक्रमणको जोखिम कम हुँदै गए त्रिशुल निर्माणका लागि महानगरले पनि सक्दो सहयोग गर्ने बताए ।

मुलकोटगढीमा विश्वकै अग्लो त्रिशूलबाहेक ५५ फिट अग्लो गोरखनाथको मन्दिर, मुलकोटगढी द्वार, सत्तल, त्रिशूलडाँडादेखि साँखुसम्म जोड्ने सिडी मार्गलगायत निमार्ण गर्ने गुरुयोजनासमेत रहेको छ ।

त्रिशुलको शिलान्यास यही मंसिर २२ गते हुने छ भने करिब ९ महिनामा निर्माण सम्पन्न हुने बताइएको छ ।