Rumpum Advertisement
Dazzu

कोरोनाले सबै खेलको खेल तालिका प्रभावित

कोरोनाले सबै खेलको खेल तालिका प्रभावित

काठमाडौ, २५ कात्तिक । कोरोना महामारी नभएको भए अहिले खेलकुदको माहोल निकै उचाइमा हुन्थ्यो । कतार विश्वकप फुटबल छनोट खेलले फुटबलको महोल बनाउँदा क्रिकेटको अन्तर्राष्ट्रिय भ्रमणले नेपाली खेलकुद चर्चित हुने थियो ।

राष्ट्रिय खेलाडीहरु फागुनको तेस्रो साता गण्डकी प्रदेशमा तय भएको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि तीव्र तयारीमा व्यस्त हुन्थे । तर कोरोनाले वर्षभरिको तालिका प्रभावित गराउँदा खेलाडीदेखि पदाधिकारीमा नैराश्यता छाएको छ ।

कोरोना महामारीले धेरै क्षेत्रलाई प्रभावित बनाउँदा खेलकुद क्षेत्र पनि अछुतो रहेन । विश्वलाई घुँडा टेकाएको कोरोना भाइरस (कोभिड–१९) अझै नियन्त्रणमा आउन नसक्दा विकल्प खोजी भइरहेको छ । नेपालमा भने अझै सहज बन्न सकेको छैन, विकल्प पनि अझै सोचिएको छैन ।

तय भएका खेलकुद तालिका पनि प्रभावित भएका छन् । फुटबलको विश्वकप छनोट तालिका अन्तिम समयमा आएर स्थगित हुँदा खेलाडीमा निराशा पन देखिएको छ । सरकारले गर्दै आएको राष्ट्रिय खेलकुद प्रतियोगिता पनि अन्योलमा परेको छ ।

पोखरामा आयोजना हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताबारे कोभिडका कारण अन्योल भएको र बोर्ड बैठकपछि मात्र थाहा हुने राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष शिव कोइरालले बताए ।

यसअघि पूर्वाधारको चुनौतीका बाबजुद पनि प्रतियोगिता सञ्चालन गरी समापन भएका उदाहरण छन् । तर पोखराको आयोजनामा पूर्वाधारको समस्या नहुने पनि कोइरालाले बताए । उनले खेलकुद चलायमान बनाउनका लागि खेलाडीदेखि सम्बन्धित संघबाट तत्परता देखाउनु पर्ने र सहयोगका लागि परिषद तयारी रहेको स्पष्ट पारे ।

कोरोना महामारीको बीचमा घरेलु केही चर्चित प्रतियोगिता हुनै पाएनन् । मुखैमा आएको फ्रोन्चाइज क्रिकेट लिए एभेरेष्ट प्रिमियर लिग रोकियो । तालिका रहेको पोखरा प्रिमियर लिग पनि कोरोनाको चपेटामा प¥यो । साथै मोफसलमा हुने धेरै गोल्डकपदेखि फुटबलका डिभिजन लिगहरुमा कोरोनाको असर देखियो ।

छिटफुटबाहेक एकलदेखि युगलसम्मका खेलकुद गतिविधि अझै फर्किन सकेका छैनन् । महामारी मापदण्ड अपनाउँदै खेलमा फर्किने वातावरण खेलाडीदेखि खेल सम्बध पदाधिकारीले खोजिरहेका छन् । खेलकुदलाई चलायमान बनाउन पहल भइरहेको उपाध्यक्ष कोइरालाले बताए ।

तय भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेल तालिकामा असर देखिँदा खेलाडीमा अहिले नैराश्यता देखिएको छ । ९ महिनाभन्दा लामो समय खेलाडी खेलकुद गतिबिधिबाट बाहिर रहँदा यस्तो असर देखिएको हो ।

खेलकुद जीवन हो भन्दै होमिएका खेलाडीमा नकारात्मक असर देखिन थालेको छ । सार्वजनिक कार्यक्रममा खेलाडी राष्ट्रका गहना हुन भन्दै अभिव्यक्ति दिने नियामक निकायका पदाधिकारीले अब भने खेलाडीको भविष्यको बारेमा सोच्ने बेला आएको छ ।