Rumpum Advertisement
Dazzu

९० प्रतिशतभन्दा बढीलाई सुरक्षा प्रदान गर्ने भाइरसविरूद्धको पहिलो खोप

९० प्रतिशतभन्दा बढीलाई सुरक्षा प्रदान गर्ने भाइरसविरूद्धको पहिलो खोप

विराटनगर, २५ कात्तिक । कोरोना भाइरसविरूद्धको पहिलो प्रभावकारी खोपले ९० प्रतिशत भन्दा बढीलाई सुरक्षा प्रदान गर्ने देखाएको छ ।

फाइजर र बायोएनटेकले तयार पारेको खोप विभिन्न छ देशका ४३ हजार ५ सय मानिसमा परीक्षण गरिएको थियो । खोप दिइएकामध्ये सुरक्षासम्बन्धी कुनै पनि चिन्ता देखापरेका थिएनन् । अमेरिका, जर्मनी, ब्रजिल, आर्जेन्टिना, दक्षिण अफ्रिका र टर्कीमा गरिएको परीक्षणमा उक्त खोपको दोस्रो मात्रा दिइएको सात दिनपछि खोप दिइएकामध्ये ९० प्रतिशतलाई संक्रमणबाट सुरक्षा प्राप्त भएको देखिएको हो ।

पहिलेका परीक्षणले उक्त खोपले शरीरलाई कोरोन भाइरससँग लड्न उक्त भाइरस विरोधी एन्टिबडी निर्माण गर्न र शरीरको रोगप्रतिरोधी क्षमताको अर्को भाग (टि–सेल) तयार पार्ने देखाएको थियो । तीन हप्ताको अन्तरालमा उक्त खोपको दुई मात्रा दिन आवश्यक हुन्छ ।

झण्डै एक दर्जनजति खोपहरू अन्तिम चरणको परीक्षणमा रहेका छन् । तर, उक्त खोप प्रभावकारी लक्षण देखाउन सफल पहिलो हो । हाल प्रस्तुत गरिएका तथ्यांक अन्तिम विश्लेषण नभएको बताइएको छ । ९४ जना स्वयंसेवकबाट मात्र प्राप्त नतिजामा आधारित भएको हुँदा खोपको खास प्रभावकारिता परीक्षणको पूर्ण नतिजाको विश्लेषण गरेपछि केही परिवर्तित हुन सक्ने देखिएको छ ।

यो महिनाको अन्त्यसम्ममा उक्त खोपको प्रयोगका लागि आवश्यक अनुमति आपतकालीनरूपमा प्राप्त गर्न आवेदन दिने कम्पनीको योजना रहेको छ । कम्पनीले यो वर्षको अन्त्यसम्ममा पाँच करोड मात्रा खोप आपूर्ति गर्न सक्नेछ भने सन् २०२१ को अन्त्यसम्ममा १ अर्ब तीस करोड मात्रा आपूर्ति गर्न सक्ने बताइएको छ । तर, उक्त खोपलाई माइनस ८० डिग्री सेल्सियसको तापक्रममा सुरक्षित राख्नु पर्ने भएकाले व्यवस्थापन गर्न चुनौती रहेको देखिन्छ ।