Rumpum Advertisement
Dazzu

रियल मड्रिडको खराब रेकर्ड

रियल मड्रिडको खराब रेकर्ड

विराटनगर, २५ कात्तिक । स्पेनिस क्लब रियल मड्रिडले खराब कीर्तिमान बनाएको छ । ला लिगाअन्तर्गत सोमबार राति भ्यालेन्सियासँगको खेलमा ४–१ गोलको लज्जास्पद हार ब्यहोरेको रियलले खराब रकेर्ड बनाएको हो ।

भ्यालेन्सियाको मैदानमा घरेलु टोलीले ३ वटा पेनाल्टीको मौका पाएको थियो । जसमा कार्लोस सोलेरले गोल गर्दै ह्याट्रिक पूरा गरेका थिए ।

भ्यालेन्सियाले एउटा आत्मघाती गोल उपहारमा पाएको थियो । राफेल भरानेले आत्मघाती गोल गरेका थिए । रियलका लागि भने करिम बेन्जेमाले एक गोल गरेका थिए ।

यससँगै रियल मड्रिड ला लिगाको इतिहासमा आफूविरुद्ध तीन पेनाल्टी पाउने एक मात्र क्लब बन्यो । यसअघि रियलले एउटै खेलमा आफूविरुद्ध तीन पेनाल्टी पाएको थिएन । यस शताब्दीमा नौ पटक विभिन्न क्लबले दुई पेनाल्टी मात्र पाएका छन् ।

मिस्टर चिपको तथ्यांकअनुसार सन् १९३५ मा सबाडेल, १९५० मा लेइडा, १९५१ मा भ्यालेन्सिया, १९५८ मा सेल्टाले र १९९४ र १९९९ मा ओसासुनाले एकै खेलमा आफूविरुद्ध दुई पेनाल्टी पाएका थिए ।

यसैगरी गेटाफेले २०१५ मा र स्पोर्टिङ डी गिजोनले २०१६ मा आफूविरुद्ध दुई पेनाल्टी पाएका छन् । अष्ट्रियन क्लब ओभिडोले भने सन् १९९६ मा एकै खेलमा आफूविरुद्ध ४ पेनाल्टी पाएको थियो ।