Rumpum Advertisement
Dazzu

आईपीएल फाइनल : दिल्लीले ऐतिहासिक उपाधि हात पार्न सक्ला ?

आईपीएल फाइनल : दिल्लीले ऐतिहासिक उपाधि हात पार्न सक्ला ?

विराटनगर, २५ कात्तिक । आईपीएल २०२० उपाधिको आज छिनोफानो हुँदैछ । दुबई रंगशालामा बेलुकी ७ः४५ बजे हुने खेलमा मुम्बई इन्डियन्सले दिल्ली क्यापिटल्स्को सामना गर्दैछ । हालसम्म चार पटक आईपीएल च्याम्पियन बनिसकेको मुम्बई लगातार दोस्रो पटक आईपीएल उपाधि जित्न चाहन्छ ।

२०१० मा पहिलो पटक फाइनल पुगे पनि उपाधि जित्न नसकेको मुम्बईले २०१३मा पहिलो पटक आईपीएल उपाधि जितेको थियो । त्यसयता हरेक एक संस्करणको अन्तरालमा आईपीएल च्याम्पियन बन्न सफल मुम्बईले २०१५, २०१७ र २०१९मा गरी चार पटक आईपीएल ट्रफी उचालिसकेको छ । तर रोचक कुरा त के भने आईपीएल उपाधि जितेलगत्तैको अर्को सिजन ऊ फाइनलमा पुगेको यो पहिलो पटक हो ।

यता, दिल्लीले भने आफ्ना लागि ऐतिहासिक उपलब्धि हात पारिसकेको छ र आईपीएल इतिहासमा आफूलाई च्याम्पियन कहलाउन लागि परेको छ । १२ वर्षे आईपीएल यात्रामा फाइनल पुग्न नसकेको दिल्लीले जारी प्रतियोगिताको दोस्रो क्वालिफायरमा हैदराबादलाई पाखा लगाउँदै पहिलो पटक फाइनलमा पुग्ने सफलता प्राप्त गरेको छ । तर दिल्ली यत्तिमै रोकिन चाहँदैन । १३औं संस्करणमा पहिलो पटक फाइनल पुग्न सफल भएको दिल्ली आफू नजिकै आइसकेको आईपीएल ट्रफीलाई आफूबाट टाढा हुन नदिने दाउमा छ ।

नौ वर्षपछि लगातार दोस्रो पटक आईपीएल प्लेअफसम्मको यात्रा तय गर्दै पहिलो पटक फाइनल खेल्ने तयारीमा रहेको दिल्ली अघिल्लो सिजनयता निकै फर्ममा देखिएको छ । २०१९ आईपीएलमा दोस्रो क्वालिफायरसम्म आइपुगे पनि उ चेन्नईसँग पराजित हुँदै आईपीएल उपाधि होडबाट बाहिरिएको थियो ।

आईपीएल उपाधिको सम्भावना कायम नै राखेको दिल्लीको लागि डिफेन्डिङ च्याम्पियन मुम्बईले कडा चुनौती दिनेछ । जारी प्रतियोगिताकै सर्वाधिक उत्कृष्ट फर्ममा देखिएको मुम्बईले यसै सिजन दिल्लीसँग भएका तीनै वटा खेलमा दिल्लीलाई पराजित गरिसकेकाले पनि दिल्ली आजको खेललाई लिएर केही दबाबमा हुनेछ ।

लिग चरणका दुई र पहिलो क्वालिफायर गरी दिल्ली र मुम्बई यसै सिजनमात्रै तीन पटक आमनेसामने भइसकेका छन् । तीनै खेलमा जित निकाल्न सफल भएको मुम्बई आजको खेलमा दिल्लीलाई एकै सिजन चौथो पटक पराजित गर्दै आईपीएल उपाधि रक्षा गर्न चाहन्छ ।

यी दुईले आईपीएलमा हालसम्म एकअर्काविरुद्ध २७ खेल खेलिसकेका छन् । २७ मध्ये १५ खेलमा जित निकालेको मुम्बई दिल्लीसँग १२ खेलमा स्तब्ध बनेको छ । यी दुईबीचका अघिल्ला तीन संस्करणको ६ खेलका नतिजा हेर्ने हो भने दुवैले समान तीन–तीन खेल आ–आफ्नो पक्षमा पार्न सफल भएका छन् । २०१९मा लिग चरणका दुई भेटमा एक–एक खेल जितेका यी दुईमध्ये दिल्लीले २०१८को दुवै खेल र मुम्बईले २०१७को दुवै खेलमा जित दर्ता गराएको थियो ।

जारी सिजन मुम्बईविरुद्ध गतिलो प्रदर्शन गर्न नसकेको दिल्लीलाई आजको खेलमा आईपीएल उपाधि जित्दै मुम्बईसँग बदला लिने मौका छ । तर उसको लागि यो फलामको चिउरा चपाउनुसरह हुनेछ । पहिलो खेल शेख जायेद रंगशालामा खेलेका यी दुईले एकअर्काविरुद्धका पछिल्ला दुई खेल भने आज फाइनल खेल हुने दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा खेलेका छन् ।

जारी प्रतियोगितामा तीनमध्येका दुई खेलमा पहिले ब्याटिङ गरेको दिल्लीले मुम्बईविरुद्ध २१ विकेटको क्षतिमा चार सय १५ रन बनाएको छ । उता दुई खेलमा लक्ष्य पछ्याएको र एक खेलम पहिले ब्याटिङ गरेको मुम्बईले भने दिल्लीविरुद्ध चार सय ७७ रन बनाउन ११ विकेट मात्रै गुमाएको छ ।

मुम्बईसँग खुलेर ब्याटिङ गर्न नसकिरहेको दिल्लीले जारी प्रतियोगितामा मुम्बईविरुद्ध बनाएको उच्च योगफल एक सय ६२ हो । दुई पटक पहिले ब्याटिङ गरेको दिल्लीले पहिलो खेलमा एक सय ६२ र दोस्रो खेलमा एक सय १० रन मात्रै बनाउन सफल भएको छ । यता क्वालिफायर वानमा पहिलो पटक दिल्लीविरुद्ध पहिले ब्याटिङ गरेको मुम्बईले भने दिल्लीलाई दुई सय एक रनको विशाल लक्ष्य दिएको थियो ।

मुम्बईविरुद्धको खेलमा दिल्लीका कुनै खेलाडीले पनि समान प्रदर्शन गर्न सकिरहेका छैनन् । पहिलो खेलमा दिल्लीका शिखर धवनले ६९ र कप्तान ऐयरले ४२ रन बनाए पनि पछिल्ला दुवै खेलमा धवन शून्य रनमै पेभिलियन फर्किएका छन् भने ऐयरले दुई खेल गरी ३७ रन मात्रै बनाएका छन् । यस्तै, बलिङमा पनि दिल्लीका बलरहरूले मुम्बईका ब्याट्सम्यानहरुलाई खासै समस्या दिन सकिरहेका छैनन् ।

पहिलो खेलमा तीव्र गतिका रबाडाले दुई विकेट लिए पनि पछिल्ला दुई खेलमा उनी विकेटविहीन छन् । दिल्लीका लागि मुम्बईविरुद्धको खेलमा सर्वाधिक विकेट खेलाडी रविचन्द्रन आश्विन हुन् । उनले पहिलो र तेस्रो खेलमा गरी चार विकेट लिएका छन् । यस्तै, जारी सिजन मुम्बईविरुद्धको खेलमा दिल्लीका लागि धवनले ६९, स्टोइनिसले ६५, अक्सर र ऐयरले समान ४२ रन बनाउनुबाहेक अन्य खेलाडीले गतिलो ब्याटिङ गर्न सकिरहेका छैनन् ।

यता, दिल्लीविरुद्धको तीनै खेलमा मुम्बईको जितका लागि भने नायक समान छन् । मुम्बईका लागि ब्याटिङमा क्विटन डी कक, ईशान किशन र सूर्यकुमार यादव नायक हुन् भने बलिङका नायक ट्रेन्ट बोल्ट, जसप्रित बुमराह र क्रुनाल पाण्डे हुन् । मुम्बईका विकेटकिपर ब्याट्सम्यान रहेका क्विन्टन डी ककले दिल्लीविरुद्धका तीन खेलमा एक सय १९ रन बनाएका छन् भने समान खेलमा सूर्यकुमार यादवले एक सय १६ रन बनाई सकेका छन् ।

यस्तै, दिल्लीविरुद्ध दुई खेल मात्रै खेलेका ईशान किशनले भने सर्वाधिक एक सय २७ रन बनाइसकेका छन् । यता, दिल्लीको इनिङ्स ध्वस्त बनाउन मुम्बई लागि बलिङमा जसप्रित बुमराह एक्लैले सात विकेट लिईसकेका छन् । पहिलो खेलम विकेटविहीन बने पनि उनले दोस्रो खेलमा तीन र तेस्रो खेलमा दिल्लीका चार ब्याट्सम्यानलाई पेभिलियन फर्काउन सफल भएका थिए ।

यसैगरी दिल्लीविरुद्धको तीनै खेलमा विकेट लिन सफल भएका ट्रेन्ट बोल्टले भने ६ विकेट लिइसकेका छन् । मुम्बईका क्रुनाल पाण्डेयले भने पहिलो र तेस्रो खेलमा गरी हालसम्म दिल्लीका तीन ब्याट्सम्यानलाई क्रिज छोड्न बाध्य बनाएका छन् ।

दिल्लीविरुद्ध निकै सफल देखिएका मुम्बईका खेलाडीहरूले आजको खेलमा कस्तो प्रदर्शन गर्ने हो ? के मुम्बईसँग एकै सिजन लगातार चौथो खेलमा दिल्ली पराजित होला ? के मुम्बई लगातर दोस्रो पटक र समग्रमा पाँचौ पटक आईपीएल च्याम्पिन बन्न सफल होला ? के पहिलो पटक फाइनल पुगेको दिल्लीले उपाधि जित्दै आईपीएल ईतिहासमा आफूलाई च्याम्पियन कहलाउने ऐतिहासिक सफलता प्राप्त गर्ला ?

आईपीएलका निकै अनुभवी कप्तान रोहित शर्मालाई पछि पार्दै दोस्रो सिजन दिल्लीलाई सम्हालिरहेका युवा कप्तान ऐयर आईपीएल २०२० को उपाधि जित्न सफल होलान् ? यी र यस्तै प्रश्नको जवाफ आजको खेलले पक्कै दिनेछ । तर त्यसका लागि हामीले दुबई रंगशालामा हुने खेल हेर्न आवश्यक रहन्छ ।