Rumpum Advertisement
Dazzu

जाडोमा देखिने छाला र कपालको समस्या कसरी सामधान गर्ने ? यस्ता छन् डा. बन्दना झाका सुझाव

जाडोमा देखिने छाला र कपालको समस्या कसरी सामधान गर्ने ? यस्ता छन् डा. बन्दना झाका सुझाव
डा. बन्दना झा
(छाला तथा कपाल विशेषज्ञ)

जाडोको समयमा बढी मात्रामा कपाल तथा छाला सुख्खा हुने वा छाला फुट्ने समस्या देखिने गर्छ । जाडोको समयमा हावामा पानीको मात्रा कम हुने हुँदा वातावरण सुख्खा हुन्छ । छाला र कपालमा भएको मोइश्चर वातावरणले सोछ्ने गर्छ ।

जसकारण छाला सुख्खा हुँदै जान्छ, त्यसको फलस्वरुप हातखुट्टा फुट्ने, ओठ फुट्ने, छाला सुख्खा हुने, एलर्जी हुने, कपाल सुख्खा भएर फुरुङ्ग देखिने, कपालमा चाया परेर संक्रमणसमेत हुन सक्छ ।

जाडोको समयमा नुहाउनका लागि थोरै समय छुट्याउँछन् । शरीरको सफाइमा ध्यान नदिएमा जाडोको समयमा छालामा धेरै समस्या देखिन सक्छ । जाडोमा सबैभन्दा धेरै देखिने समस्या भनेको लुतो हो ।

सरसफाइमा ध्यान नदिए लुतो एकजनाबाट परिवारका अन्य सदस्यामा समेत फैलिन सक्छ । पसिनाका कारण मात्र हुने फंगल इन्फेक्सन तथा दाद गर्मीको मौसममा मात्र नभएर जाडोमा समेत देखापर्न सक्छ । यो पनि सरसफाइमा ध्यान नदिएका कारणले नै गर्दा हुने गर्छ । नवजात शिशुमा धेरै तेल लगाउने गर्दा तेलको तह बढ्दै जाँदा तेल जमेर संक्रमणसमेत हुन सक्छ ।

जाडोको समयमा धेरैजसोलाई विन्टर एक्जेमा, एटोपिक एक्जेमा, एटोपिक डर्माटाइटिस, सिरोर्यासिस, हातखुट्टा सुन्निएर रातो हुने, चिसोका कारण डाबर आउने, चिसोका कारण रगतको सर्कुलेसन राम्ररी हुन नसक्दा हात र नङ रातो तथा नीलो हुने तथा एकदम दुख्ने समस्या हुन सक्छ ।

चिसोका कारण छालामा पिम्पल जस्तो दाना आउने समस्या हुन सक्छ । जाडोको समयमा चिसो भगाउनका लागि आगो तथा हिटर ताप्ने, घाममा धेरै बस्दा पनि छाला सुख्खा हुने समस्या हुन सक्छ । यसरी छाला सुख्खा हुँदा फुस्रो भएर छाला रातो हुने, छाला निस्कने, फुट्ने, पोल्ने, चिलाउने हुन सक्छ ।

हिटरको प्रयोग गर्दा निस्कने युभी किरणले छालामा चाया–पोतो निम्त्याउने वा पहिलाबाट भए समस्या थप बढाउन सक्ने हुन्छ । जाडोमा लगाइने उनीको लुगाले छालामा एलर्जी हुने समस्या निम्त्याउन सक्छ ।

जाडोमा सुरक्षित कसरी रहने ?

सुख्खा तथा फुटेको छालाको स्याहार समयमै नगरेमा विभिन्न जोखिम बढाउन सक्छ । जाडोमा नुहाउनका लागि अधिकांशले तातो पानीको प्रयोग गर्ने गर्छन् ।

तातो पानीले छालामा भएको माथिल्लो सुरक्षात्मक तहलाई हटाउने गर्छ । यसले छालालाई थप सुख्खा बनाउने गर्छ । नुहाउनका लागि मनतातो पानीको प्रयोग गर्न सकिन्छ । र, नुहाउने समयलाई जति कम गर्न सकियो त्यति राम्रो हुने गर्छ ।

अनुहारमा तातो पानीको प्रयोग बिर्सेर पनि गर्नु हुँदैन । नुहाएपछि कटनको रुमालले हल्का पुछेर तुरुन्तै मोस्चराइज क्रिमको प्रयोग गरिहाल्नु पर्छ । शरीरलाई तथा अनुहार पुछ्दा रगडेर कहिले पनि पुछ्ने गर्नु हुँदैन ।

शरीर अलिअलि भिजेको बेलामा मोस्चराइज क्रिमको प्रयोग गर्दा जाडोमा शरीरको मोस्चराइज हराउन पाउँदैन, क्रिम पनि कम युज हुन्छ र शरीरले बढी सुरक्षा पाउने हुन्छ । मोस्चराइज क्रिममा जोजोभा अइल, सियर बटर, पेट्रोलियम, ग्लिसिरिन, ल्याकटिक एसिड लगायतका तत्व भएको लोसन प्रयोग गर्नु पर्छ ।

जाडोमा फेसवासको प्रयोग गर्दा पनि माइल्ड खालको फेसवासको प्रयोग गर्नु पर्छ । अत्यधिक सुख्खा छाला भएकाले तथा छाला सुख्खा भएका दिनको एकचोटि मात्र फेसवासको प्रयोग गर्नु पर्ने हुन्छ । फेसवासदेखि लिएर छालामा प्रयोग गरिने हरेक सामग्री आफ्नो छालाको प्रकार हेरेर मात्र प्रयोग गर्नु पर्ने हुन्छ ।

जाडोको समयमा अनुहारमा भिटामिन सी सेरुम र सन्स क्रिमको प्रयोग राम्रो हुन्छ । छाला एकदम सुख्खा भए दिनको ३ देखि ४ पटकसम्म मोइस्चराइजरको प्रयोग गर्न सकिन्छ । जाडोमा धेरै साबुन वा कडाखालको साबुनको प्रयोग गर्नाले छाला सुख्खा हुँदै जान्छ, त्यसैले जाडोमा साबुनको सकेसम्म कम प्रयोग गर्दा राम्रो हुन्छ वा बास्नारहित ग्लिसिरिन भएको साबुनको प्रयोग गर्न सकिन्छ ।

जाडोको समयमा हातखुट्टा तथा छाला फुट्ने, हातखुट्टाको छाला मोटो भएर आउने समस्या भएकाले दैनिक प्रयोग गरिने मोस्चराइजरमा युरिया, ल्याक्टिक एसिड भएमा यसले छालालाई थप नरम बनाउन मद्दत गर्छ ।

ओठ फुट्ने वा सुख्खा हुने समस्या कम गर्नलाई बाहिर हिँड्दा ‘एसपीएफ’ भएको ओठमा लगाउने क्रिम (लिप बाल्म)लाई हरेक घण्टा लगाइरहनु पर्छ । हातको छालालाई कडाखालको साबुन र डिटरजेन्टबाट बचाउनका लागि पन्जाको प्रयोग गर्न सकिन्छ । बाहिर सुख्खा हावा चलेको समयमा ननिस्कने, वा निस्कन परे अनुहारलाई सकेसम्म छोपेर मात्र निस्कने गर्नुपर्छ ।

जाडोयाममा हिटर ताप्ने, घाममा धेरै बस्दा शरीरमा पानीको मात्रा पनि कम हुने हुँदा प्रशस्त मात्रामा पानी पिउनु पर्छ । आगो तथा हिटर ताप्ने, घाममा धेरै बस्दा पनि छाला सुख्खा हुन नदिन दुरी कायम गर्नुपर्छ ।

आगो तथा हिटर तापेर छालालाई एक्सपोज गर्नुभन्दा पनि हट वाटर ब्यागको प्रयोग गर्न उचित हुन्छ । साथै, आजकल व्याल्यांकेटमै हुने इलेक्ट्रिक हिटरको प्रयोग बढ्दो देखिन्छ । तर, यो सुरक्षित हुँदैन । यसले आगो लाग्ने तथा सर्ट सर्किट हुने डर रहन्छ ।

उनीको लुगाभित्र जहिले पनि सुतीको लुगा लगाउनाले एलर्जीबाट बच्न तथा चिलाउने समस्या नहुन सक्छ । भित्री लुगा तथा थर्मल कोटहरू पनि सुतीकै प्रयोग गर्नु पर्छ । जाडोमा चिसोबाट बच्नका लागि लुज खालको पन्जा र मोजाको प्रयोग गर्नु पर्छ । टाइट मोजा वा पन्जाले रगतको सञ्चारमा अवरोध पु¥याएर अन्य समस्या निम्त्याउन सक्छ ।

जाडोमा एउटै मोटो लुगाको प्रयोग गर्नुभन्दा पनि पातलो लेयर गरेर लगाएको उचित हुन्छ । बच्चाहरूलाई तोरीको तेलको साटो मिनिरल ओइलले मालिस गरिदुनु उचित हुन्छ । तोरीको तेल बाक्लो हुने हुँदा यसले रौँ छिद्रलाई बन्द गर्न सक्ने सम्भावना रहन्छ र छालामा समस्या पैदा गर्न सक्छ । छालाको साथसाथै कपालमा पनि तातो पानीको प्रयोग गर्नु हुँदैन । जाडोको समयमा छाला तथा कपालको समस्याबाट बच्नका लागि खानपानमा विशेष ध्यान दिन आवश्यक हुन्छ ।

ताजा फलफूलका साथै अनार, बेरीलगायतका एन्टिअक्सिड्यान्टले भरिएको फलफूलको सेवन गर्नुपर्छ । यसबाहेक छालामा केही समस्या आए वा पहिलाको भन्दा छाला तथा कपालमा केही परिवर्तन देखिए आफैं उपचार गर्नुभन्दा पनि तुरुन्तै छाला तथा कपालको डाक्टरलाई सम्पर्क गरेर सल्लाह लिनुपर्छ ।

(विराटनगरस्थित क्युटिज केयर क्लिनिककी छाला तथा कपाल विशेषज्ञ डा. झासँग कोशी अनलाइनका लागि अंकिता ताम्राकारले गरेको कुराकानीमा आधारित ।)