Rumpum Advertisement
Dazzu

कोरोना संक्रमणका कारण तरुण दल विराटनगरका नेताको मृत्यु

कोरोना संक्रमणका कारण तरुण दल विराटनगरका नेताको मृत्यु

विराटनगर, २५ कात्तिक । कोरोना संक्रमणका कारण नेपाली कांग्रेस निकट तरुण दलका स्थानीय नेताको मृत्यु भएको छ । तरूण दलका स्थानीय नेता विराटनगर महानगरपालिका– १ का ३७ वर्षीय राजु गुप्ताको मंगलबार बिहान मृत्यु भएको हो ।

केही दिनअघि कोरोना संक्रमण पुष्टि भएपछि उनलाई कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा भर्ना गरिएको थियो । उपचारका क्रममा मंगलबार बिहान १०ः३० बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।

गुप्ताका छिमेकीसमेत रहेको विद्यार्थी नेता सेन्ट्रो महतका अनुसार गुप्ता नेपाल विद्यार्थी संघ मोरङको दुई कार्यकाल जिल्ला सदस्य निर्वाचित भएका थिए । उनी तरुण दलको निर्वाचित महाधिवेशन प्रतिनिधि रहेको महतले बताए ।

सामाजिक क्षेत्रमा सक्रिय रहँदै आएका गुप्ता तरुण दलले कोशी अस्पतालमा निःशुल्क खाना वितरण गर्ने अभियान सञ्चालन गर्दा सक्रिय थिए ।