Rumpum Advertisement

दसैँपछि संक्रमण झन् बढ्यो, प्रदेशमा सात दिनमै ५६ जनाको मृत्यु

विज्ञ भन्छन् : परीक्षण बढाऊ, सचेतना फैलाऊ

दसैँपछि संक्रमण झन् बढ्यो, प्रदेशमा सात दिनमै ५६ जनाको मृत्युविज्ञ भन्छन् : परीक्षण बढाऊ, सचेतना फैलाऊ

यज्ञ अधिकारी

विराटनगर, २५ कात्तिक । कोरोना महामारी उच्चतम बिन्दुतर्फ लम्किरहेको छ । पीसीआर परीक्षणको संख्या घटे पनि फैलँदो संक्रमण र मृतकको संख्याले महामारी उच्चबिन्दुतर्फ लम्कँदै गएको पुष्टि गर्छ ।

प्रदेश १ मा फैलँदो कोभिड १९ संक्रमणसँगै मृत्यु पनि बढ्दो छ । पछिल्लो एक सातामा प्रदेश १ मा ५६ जना संक्रमितको ज्यान गएको छ ।

प्रदेश १ सामाजिक विकास मन्त्रालयका अनुसार प्रदेशमा १६ कात्तिकमा ४ जना, १७ र १८ कात्तिकमा ५–५ जनाको मृत्यु भएको छ ।

१९ कात्तिकमा १४ जनाको ज्यान गएको छ । २० कात्तिकमा ९ जनाले ज्यान गुमाएका थिए । २१ कात्तिकमा १२, २२ कात्तिकमा ५ र २३ कात्तिकमा २ जनाको मृत्यु भएको प्रदेश १ सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार २४ कात्तिकमा ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

सोमबारसम्म प्रदेश १ मा कोरोना संक्रमितको संख्या २२ हजार एक सय ९८ पुगेको छ । तीमध्ये २४५ जनाको मृत्यु भएको छ । १४ हजार आठ सय एकजना संक्रमण मुक्त भएका छन् । दसैँपछि संक्रमणदर बढ्दो क्रममा छ ।

मन्त्रालयका अनुसार १६ कात्तिकसम्म प्रदेश १ मा कोभिड १९ बाट १ सय ८७ को ज्यान गएको थियो । त्यो संख्या कात्तिक २३ पुग्दा बढेर २ सय ३९ पुग्यो । सोमबारसम्म २४५ पुगेको छ ।

आसोज २४ सम्म प्रदेश १ मा जम्मा ९६ जनाले कोरोना भाइरस संक्रमणको कारण ज्यान गुमाएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको तथ्याङ्कमा उल्लेख छ । गएको दसैँले संक्रमण फैलाउन राम्रै भूमिका खेलेको तथ्याङ्कले देखाउँछ ।

कात्तिक ५ गतेसम्म १ सय ५१ जनाको मृत्यु भएको प्रदेश १ मा १० गतेसम्ममा १ सय ७१ पुगेको थियो । त्यसयताको तथ्याङ्कले संक्रमणसँगै ज्यान जाने क्रमले तीव्रता लिएको देखाउँछ ।

पछिल्लो समय संक्रमण बढ्दो छ । मानिसले परीक्षण नगर्ने र अवस्था जटिल देखिएपछि मात्र परीक्षण गर्ने बानीले गर्दा संक्रमित र मृतकको संख्या बढाउँदै लगेको हो ।

संक्रमण बढेका कारण कन्ट्रयाक ट्रेसिङसँगै परीक्षण बढाउनु पर्ने जानकारहरु बताउँछन् । सरकारले कन्ट्रयाक ट्रेसिङ नगर्ने र सर्वसाधारणले परीक्षणमा चासो नदिँदा सक्रमणको कुन अवस्थामा पुग्यौं भन्ने भन्न नसकिने जनस्वास्थ्य विज्ञ डा. नवराज सुब्बाले बताए । उपचार गर्नलाई स्वस्थ्य संस्थामा अभाव भइसकेकाले राग लाग्ने नदिने उपायतर्फ लाग्नुपर्ने बेला भएको उनले बताए ।

‘महामारी कुन बिन्दुमा पुग्यो भन्न सक्ने अवस्था छैन’

सामान्यतया कोभिड १९ संक्रमण उच्च बिन्दुमा पुगेर बिस्तारै घट्दै जाने हुन्छ । नेपालमा सरकारले कन्ट्रयाक ट्रेसिङ र परीक्षण गर्ने दायित्वबाट पन्छिँदा र सर्वसाधारणले आफैं परीक्षणमा चासो नदिँदा संक्रमणको अवस्था आँकलन गर्न नसकिने बन्दै गएको छ ।

कोभिड १९ संक्रमण उच्चतम बिन्दुमा कहिले पुग्छ भन्न सक्ने अवस्था नरहेको जनस्वस्थ्य विज्ञ नवराज सुब्बा बताउँछन् । ‘सरकारको तर्फबाट कन्ट्रयाक ट्रेसिङ र परीक्षणको दायरा घटाउँदा र सर्वसाधारणको अनिच्छाका बाबजुद भएको परीक्षणबाट पनि संक्रमण र मृत्यु बढ्दो छ ।’ उनले भने, ‘संक्रमण उच्च बिन्दुमा भए पनि उच्चतम बिन्दुमा पुगेर घट्ने क्रम कहिले सुरु हुन्छ भन्न सकिँदैन ।’

अमेरिका र युरोपको अवस्थालाई हेर्दा यो अझै लामो समय रहन सक्ने उनी बताउँछन् । छिमेकी देश भारतको अवस्थाले भने केही आशा गर्ने ठाउँ रहेको उनले बताए । अमेरिका र युरोपको जस्तो अवस्था आइनसकेका कारण सावधानी र सचेतता अपनाउने हो भने अवस्था सकारात्मक हुनेसक्ने उनी बताउँछन् ।

मानिसले अहिले सावधानी अपनाउन छाडेको उनले बताए । लामो समय भएर मानिसले यसो गरेको भए पनि भोलि भयाभह अवस्था निम्तन सक्ने उनको भनाइ छ ।

कोरोना भाइरसको संक्रमण ढिलो गरी सुरु भएकाले अझै बढ्ने र कम हुन समय लाग्ने प्रदेश १ प्रदेश जनस्वस्थ्य प्रयोगशाला प्रमुख जयवेन्द्र यादवले बताए । चिसोको समय पनि आएकाले घट्ने क्रम कहिले सुरु हुन्छ भन्न नसकिने उनले बताए ।

संक्रमणसँग कडा बिरामीको संख्या धेरै आइरहेकाले बढ्ने क्रम कहिलेसम्म रहन्छ भन्न नसकिने कोशी अस्पतालको मेडिकल सुपरिटेन्डेन्ट डा. चुमलाल दासले बताए । लक्षणसहितका बिरामी पनि बढिरहेकोले तीव्र संक्रमणको सयम ६–७ महिना पनि तन्कन सक्ने बताए ।