Rumpum Advertisement

निम्की बनाउने छिटो र सजिलो बिधि

निम्की बनाउने छिटो र सजिलो बिधि

विराटनगर, २५ कात्तिक । दसैँपछिको दोस्रो ठूलो चाड तिहार नजिकिसकेको छ ।

तिहार नजिकिँदै जाँदा घरघरमा विभिन्न रोटीका परिकार पकाउनसमेत सुरु हुन थालेको छ । तिहारको विशेषता भनेकै रोटी हो । जुनसुकै ठाउँ, चाडपर्वमा मात्र नभएर सबै समयमा केटाकेटीदेखि बूढाबूढीसम्मलाई निम्की खान रुचाउने गर्छन् । अधिकांश सबैलाई मन पर्ने निम्की पकाउन एकदमै सजिलो छ ।

निम्की बनाउनका लागि राम्रोसँग तैरिनेखालको गाहिरो कराई, तेल झान्ने, तेल सोछ्नका लागि टिस्यु वा पत्रिकाले छोपिएको नाङ्लो चाहिन्छ । यसपालिको तिहारमा सजिलै र मिठो निम्की बनाउन सिकौं ।

निम्की बनाउन चाहिने सामग्री : मैदा, स्वादअनुसार नुन, घिउ, जिराका दाना, कालो तिल, तार्न आवश्यकताअनुसार तेल । निम्की फुलाउनका लागि खाने सोडा पनि राख्न सकिन्छ ।

निम्की बनाउने बिधि : एउटा भाँडामा मैदा, नुन, तिल, जिरा, घिउ, सोडा र पानी हालेर मज्जाले मुछ्ने । पीठोलाई नरम हुने गरी मुछ्नु पर्छ । त्यसपछि स–साना गोला काट्ने । त्यसलाई पातलो गोलो बनाई रोटी जस्तो बेल्ने र सानो–सानो चारपाटे आकारमा काट्ने । यसलाई तातो घिउमा दुवै साइड पकाएर निकाल्ने । सानो–सानो निम्की खाजाका लागि खान तयार भयो ।

फरक आकारमा समेत निम्की बनाउन सकिन्छ । गोलो बनाई बेलेको रोटीलाई घिउमा हाल्ने र अलिकति तारिएपछि आधा पट्याउने, र फेरि तीन चुच्चा तीन पत्र हुने गरी पट्याउने । त्यसपछि दुवै साइड पकाएर निकाल्ने । तातो–तातो निम्की खानलाई तयार भयो । यसलाई हावा नछिर्ने ठाउँमा राखे धेरै समयसम्मका लागि राख्न सकिन्छ ।