Rumpum Advertisement
Dazzu

जिल्ला अस्पतालको परिणाम देखिनुपर्‍यो : मन्त्री घिमिरे

जिल्ला अस्पतालको परिणाम देखिनुपर्‍यो : मन्त्री घिमिरे

विराटनगर, २५ कात्तिक । प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले जिल्ला अस्पतालहरुले परिणाम देखिनेगरी काम गर्नुपर्ने बताएका छन् । उनले अस्पतालहरुले विस्तार गरेको सेवाका बारेमा स्थानीयले थाहा पाउने गरी काम गर्नसमेत निर्देशन दिए ।

प्रदेश स्वास्थ्य निर्देशनालयको आयोजनामा सोमबार भएको प्रदेशस्तरीय अस्पतालहरुको वार्षिक समीक्षा तथा योजना तर्जुमा गोष्ठीमा मन्त्री घिमिरेले जिल्ला अस्पतालहरुलाई प्रदेश सरकारले उल्लेखनीय बजेट दिएकाले परिणाम पनि सोहीअनुसार देखिनुपर्ने बताए ।

मन्त्री घिमिरेले स्थानीयले सेवा सुलभ भएको अनुभूति गर्नुपर्ने बताए । चालु आर्थिक वर्षमा मात्र जिल्ला अस्पतालहरुलाई सात करोडदेखि ३५ करोडसम्म बजेट प्रदेश सरकारले उपलब्ध गराएको उनले बताए ।

पछिल्लो अढाई वर्षमा अस्पतालहरुले जनशक्ति, यन्त्र उपकरण र पूर्वाधारमा गरेको प्रगतिको समीक्षा हुन आवश्यक रहेकोमा उनले जोड दिए । मन्त्री घिमिरेले भने, ‘प्रदेश सरकार गठनपछिको अढाई वर्षकै समीक्षा आवश्यक छ ।’

उनले स्वास्थ्य बीमालाई प्रभावकारी बनाउन पनि निर्देशन दिए । स्वास्थ्यकर्मीलाई घरघरमा गएर बीमा गर्न सुझाव दिए । मन्त्री घिमिरेले भने, ‘घरदैलो गर्दै शतप्रतिशतको स्वास्थ्य बीमा गर्नुहोस् ।’

निजी अस्पतालले दिने सेवाभन्दा प्रभावकारी सेवा दिन मन्त्री घिमिरेको आग्रह छ । उनले प्रदेश सरकारले कोरोना संक्रमितको उपचारका लागि एचडीयूसहितको पाँच सय बेड बिस्तारको तयारी गरिरहेको बताए ।

सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेरले सरकारले स्वास्थ्य क्षेत्रको बजेट कटौती नगर्ने भएकाले उच्च मनोवलका साथ काम गर्न आग्रह गरिन् । कार्यक्रममा सामाजिक विकास मन्त्रालयका सचिव गोविन्दबहादुर कार्की, जिल्ला समन्वय समिति महासंघ प्रदेश १ का अध्यक्ष बबी चाम्लिङ, प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक चन्द्रदेव मेहतालगायतले बोलेका थिए ।