Rumpum Advertisement
Dazzu

मोरङमा १२ घण्टाभित्र नौ कोरोना संक्रमितको मृत्यु

मोरङमा १२ घण्टाभित्र नौ कोरोना संक्रमितको मृत्यु

विराटनगर, २५ कात्तिक । मोरङमा पछिल्लो १२ घण्टाभित्र कोरोना भाइरस संक्रमित नौ जनाको मृत्यु भएको छ ।

कोरोनाले ज्यान लिने क्रम सुरु भएयता पहिलो पटक मोरङभित्र एकै पटक यतिधेरै संक्रमितको ज्यान गएको हो । आठ जनाको उपचारका क्रममा विराटनगरका विभिन्न कोभिड अस्पताल र एक जनाको आफ्नै घरमा मृत्यु भएको छ ।

मृत्यु भएकामध्ये सात पुरुष र दुई महिला छन् । तीमध्ये एक जना युवा र छ जना वृद्धवृद्धा छन् । विराटनगरको नोबेल शिक्षण अस्पतालमा मंगलबार बिहान भरीमा पाँच कोरोना संक्रमितको मृत्यु भयो । त्यस्तै कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा दुई, न्युरो अस्पतालमा एक र होम आइसोलेसनमा एक जनाको ज्यान गएको छ ।

तेह्रथुमको म्याङ्लुङ–१० का ५७ वर्षीय संक्रमित पुरुषको बिहान ८ः२० बजेतिर नोबेल शिक्षण अस्पतालमा मृत्यु भएको छ । कोरोना पुष्टि भएपछि पुरुषलाई उपचारका लागि कात्तिक २२ गते आइसोलेसनमा भर्ना गरिएको अस्पतालका प्रबन्धक नारायण दाहालले बताए ।

झापा गौरादह–५ का ६५ वर्षीय वृद्ध पुरुषको पनि बिहान ८ः२५ बजे नोबेलमै ज्यान गएको छ । पीसीआर परीक्षण रिपोर्ट पोजिटिभ आएपछि वृद्धलाई कात्तिक १३ गते अस्पताल भर्ना गरिएको दाहालको भनाइ छ ।

उनका अनुसार झापाको झापाको हल्दिबारी–४ का ७० वर्षीय वृद्ध पुरुषको पनि बिहान ५ः४५ बजेतिर मृत्यु भएको छ । कोरोना पुष्टि भएपछि उनलाई कात्तिक १५ गते उपचारका लागि नोबेल अस्पताल भर्ना गरिएको थियो ।

उदयपुरको त्रियुगा–३ का २१ वर्षीय युवकको पनि नोबेलमा मृत्यु भएएको छ । कोरोना रिपोर्ट पोजिटिभ आएपछि कात्तिक २२ गते भर्ना गरिएका उनको बिहान ५ः३० बजे मृत्यु भएको जानकारी दाहालले दिए ।

मोरङको रतुवामाई नगरपालिका–९ का ७७ वर्षीय वृद्ध पुरुषको बिहान ६ः३० बजेतिर नोबेलमै ज्यान गएएको छ । श्वासप्रश्वासमा समस्या देखिएपछि २२ गते अस्पताल भर्ना गरिएका उनको पीसीआर परीक्षण रिपोर्ट पोजिटिभ आएको दाहालले बताए । वृद्ध पुरुषको उपचारका क्रममा ज्यान गएको उनले बताए ।

विराटनगरको कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा ६९ वर्षीया वृद्धा महिलाको मंगलबार बिहान ज्यान गएको छ । सुनसरीको इटहरी–५ की वृद्धाको बिहान ८ बजेतिर मृत्यु भएको उपचार केन्द्रका व्यवस्थापक ज्ञानबहादुर बस्नेतले बताए । उनका अनुसार कात्तिक १३ गते पीसीआर परीक्षण रिपोर्ट पोजेटिभ आएपछि वृद्धालाई उपचारका लागि अस्पताल भर्ना गरिएको थियो ।

त्यस्तै विराटनगर–३ का ७७ वर्षीय वृद्ध पुरुषको पनि कोशी कोभिडमै ज्यान गएको छ । बस्नेतका अनुसार वृद्धको मृत्यु बिहान ७ः३० बजेतिर भएको हो । कोरोना पुष्टि भएपछि उनलाई उपचारका लागि कात्तिक २२ गते अस्पताल भर्ना गरिएको थियो ।

विराटनगरको न्युरो अस्पतालमा उपचाररत मोरङको कटहरी–२ का ५० वर्षीय पुरुषको सोमबार राति ९ः५० बजेतिर मृत्यु भएको छ । निमोनियाको समस्या रहेका पुरुषलाई उपचारका लागि कात्तिक २१ गते अस्पताल भर्ना गरिएको थियो । अस्पतालका प्रशासकीय अधिकृत सुरेश आचार्यका अनुसार उपचारका लागि अस्पताल ल्याएपछि स्वाब संकलन गरेर पीसीआर परीक्षण गराउँदा रिपोर्ट पोजेटिभ आएको हो ।

मोरङकै सुन्दरहरैँचा–७ की ७७ वर्षीया वृद्धा महिलाको आफ्नै घरमा ज्यान गएको छ । स्वास्थ्यमा समस्या देखिएपछि पीसीआर परीक्षण गराउँदा सोमबार उनको रिपोर्ट पोजेटिभ आएको थियो ।

कोरोना पुष्टि भएको २४ घण्टा पनि बित्न नपाउँदै उनको मंगलबार बिहान ७ः३० बजेतिर मृत्यु भएको प्रहरीले जनाएको छ । संक्रमण पुष्टि भएपछि होम आइसोलेसनमा बसेकी वृद्धाको आफ्नै घरमा ज्यान गएको हो ।

मृतकहरुमा ज्वरो, निमोनिया, श्वासप्रश्वास, उच्च रक्तचाप, फोक्सो, मृगौला र मुटु सम्बन्धी पुरानै समस्या रहेको अस्पतालहरुले जनाएका छन् ।