Rumpum Advertisement
Dazzu

राष्ट्रिय विभूति फाल्गुनन्दको जन्मजयन्ती आज

राष्ट्रिय विभूति फाल्गुनन्दको जन्मजयन्ती आज

विराटनगर, २५ कात्तिक । राष्ट्रिय विभूति, किरात धर्मका महागुरु एवं सामाजिक चेतना फैलाउने अभियन्ता फाल्गुनन्द लिङदेनको जन्मजयन्ती आज (मंगलबार) परेको छ ।

उनलाई सामाजिक चेतना फैलाउने र समाजका लागि व्यावहारिक आर्थिक नीति नियम बनाउने एक कुशल अर्थविदका रूपमा पनि लिने गरिन्छ । समाज सुधारक फाल्गुनन्दको जन्म बिक्रम संवत १९४२ साल कात्तिक २५ गते इलामको माङसेबुङ गाउँपालिका– २ (साविक इभाङ–५ चुक्चिनाम्बा)मा भएको हो ।

बाबु जगुनबाज लिङदेन र आमा हंसमति बेघा लिङदेनका साइँला छोराको उनको निधन बिक्रम संवत २००५ सालमा भयो । उनको जन्मजयन्ती किरात धर्मावलम्बीले पूजाआजासहित विशेष महत्वका साथ मनाउने गरेका छन् । किराँतीले उनलाई महागुरुका रुपमा पुज्ने गर्छन् । किरात धर्मावलम्बीको मुन्धुमलाई उनले लिखित रुपमा ल्याउन सुरुआत गरेका थिए ।

जीवनको अन्तिम समयसम्म किराँत भाषा, लिपि, संस्कार, संस्कृति र समाज सुधारका निम्ती काम गरेका उनलाई सरकारले राष्ट्रिय विभूति घोषणा गरेको थियो । समाजसुधारका लागि खेलेको भूमिकाको कदर गर्दै सरकारले २०६६ साल मंसिर १६ गते फाल्गुनन्दलाई राष्ट्रिय विभूति घोषणा गरेको हो । महिलालाई पनि पुरुष सरह अधिकार दिनुपर्छ भनेर लैंगिक हिंसकाविरुद्ध उनले आवाज उठाएका थिए ।

यसैबीच राष्ट्रपति विद्यादेवी भण्डारीले फाल्गुनन्द जयन्तीले सबैलाई समाज सुधारको अभियानमा लाग्ने प्रेरणा प्रदान गरोस् भन्ने कामना गरेकी छन् । स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण किराँत धर्मावलम्बीलाई आज शुभकामना दिँदै राष्ट्रपति भण्डारीले समाजमा रहेका विकृति र विसंगति हटाउँदै प्रगतिशील, सभ्य र समुन्नत समाज निर्माण गर्न सबैमा प्रेरणा मिलोस् भन्ने शुभेक्षा पनि प्रकट गरेकी छन् ।

किराँत धर्म र संस्कृतिको मौलिक पहिचान तथा संरक्षणमा जोड दिने फाल्गुनन्दको प्रेरणादायी उपदेश र मार्गदर्शनको परिपालना गर्न सकेमा राष्ट्रिय एकतालाई सुदृढ एवं सवल बनाउन सकिने विश्वास भण्डारीको छ ।

प्रदेश १ सरकारले फाल्गुनन्दको जन्मजयन्तीका अवसरमा मंगलबार सार्वजनिक विदा दिएको छ । विदाको विषय प्रदेश सरकारले राजपत्रमै उल्लेख गरेको छ ।