Rumpum Advertisement
Dazzu

अमेरिकामा मास्क लगाउन जो बाइडेनको अपिल

अमेरिकामा मास्क लगाउन जो बाइडेनको अपिल

विराटनगर, २५ कात्तिक । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति जो बाइडेनले सर्वाजनिक स्थलमा हिँडडुल गर्दा र भेटघाट गर्दा मास्क लगाउन सबैमा अपिल गरेका छन्।

कोरोना भाइरसको संक्रमणबाट बच्ने उपाय मास्कको प्रयोग रहेकोभन्दै उनले सबै अमेरिकीलाई हेलचेक्राई नगर्दा आग्रह गरेका हुन् । चुनावी अभियान र कार्यक्रममा पनि उनले मास्कको प्रयोगमा जोड दिएका थिए ।

नोभेम्बर ३ मा भएको चुनावमा पराजित भए पनि हार स्वीकार नगरेका राष्ट्रपति डोनाल्ड ट्रम्पले भने मास्कलाई लिएर सदैव आशंका व्यक्त गर्दै आएका थिए । तीव्र रुपमा कोरोना फैलिए पनि संक्रमण नियन्त्रणमा महत्वपूर्ण भूमिका खेल्ने मास्क प्रयोग गर्न आवश्यक नरहेको बताएपछि उनको विश्वभर आलोचना पनि भयो । उनले मास्क लगाउन सार्वजनिक रुपमा अपिल गरेका थिएनन् र छैनन् ।

बाइडेनले अमेरिकाले ‘सारै अँध्यारो (भयावह) जाडो याम’ को सामना गरेको र महामारीको अझै खराब लहर आउन बाँकी रहेको भन्दै अमेरिकीलाई सचेत गराएका हुन् । उनले कोभिड–१९ सँग जुध्नका लागि अमेरिकीले राजनीतिलाई पाखा लगाउनु पर्ने बताएका छन् ।

कोरोना भाइरसको महामारी नियन्त्रणको प्रयासका लागि राष्ट्रपतिमा निर्वाचित भएका जो बाइडेनले आफ्नो टास्क फोर्स घोषणा गरेका छन् र विज्ञानलाई मान्ने बताएका छन् ।

राष्ट्रपति र उपराष्ट्रपतिमा निर्वाचित जो बाइडेन र कमला ह्यारिसले अन्तरिम कालका लागि वेबसाइट पनि तयार पारेका छन् । अन्तरिम कालका लागि कोरोना भाइरस महामारी नियन्त्रणको प्रयास सम्बन्धमा आफ्नो योजना सार्वजनिक गर्दै बाइडेनले सोमबार टेलिभिजन सम्बोधन मार्फत भनेका छन्, ‘म तपाईँहरुसँग प्रार्थना गर्छु, मास्क लगाउनु होस् । यो नै एक मात्र सबैभन्दा प्रभावकारी काम हो कोरोना भाइरसको संक्रमण फैलिनबाट रोक्ने ।’

उनले भने, ‘मास्क राजनीतिक अभिव्यक्ति होइन, यो त देशलाई एकताको सुत्रमा बाँध्ने माध्यम हो ।’ बाइडेनले तीन सह–अध्यक्ष तथा १० सदस्यसहितको कोरोना भाइरस टास्क फोर्स घोषणा गरेका छन् । कोरोना भाइरसको महामारीबाट अमेरिका विश्वमा सबैभन्दा बढी प्रभावित भएको देश हो ।