Rumpum Advertisement
Dazzu

खाना खुवाउनकै लागि आर्थिक सहयोग र चन्दा माग्नुपर्ने आवश्यकता छैन : मेयर शाक्य

खाना खुवाउनकै लागि आर्थिक सहयोग र चन्दा माग्नुपर्ने आवश्यकता छैन : मेयर शाक्य

काठमाडाैं, २४ कात्तिक । काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले कोरोनाका कारण समस्यामा परेका नागरिकहरूलाई सुरक्षित स्थानमा राखेर खाना खुवाउने व्यवस्था महानगरपालिकाले गर्ने बताएका छन् ।

संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा मेयर शाक्यले खुलामञ्चमा निःशुल्क खाना खुवाएको विषय सबैको सरोकारभित्र परेको भन्दै उनले त्यसलाई व्यवस्थित गर्ने पनि बताए ।

कसैलाई पनि मागेर खानुपर्ने अवस्था आएमा त्यसको व्यवस्थापन महानगरले गर्ने उल्लेख गर्दै उनले खुलामञ्चको निःशुल्क खाना खुवाउने अभियानलाई पनि व्यवस्थापन गर्ने बताएका हुन् । अहिलेको अवस्थामा एक अर्कालाई दोषारोपण गर्नुभन्दा सबै मिलेर अगाडी बढ्नुपर्ने दायित्व भएको पनि उनले बताए ।

‘उहाँहरूलाई खाना खानेलाई पायक पर्ने गरी फरक–फरक ठाउँमा बन्द स्थानको छनोट गर्नुहोस् भनेका छौँ । हामी ती ठाउँको भाडा तिर्न तयार छौँ । त्यति मात्र होइन । खाना खुवाउन आर्थिक अभाव भयो भने हामी खाद्यान्नको समेत व्यवस्थापन गर्न तयार छौँ । तर, यस्तो कोरोना कहरका बेला स्वास्थ्य मापदण्डको समेत ख्याल नगरी खुला ठाउँमा खाना खुवाउनु हुन्न भन्ने हाम्रो चाहना हो,’ उनले भने ।

मेयर शाक्यले खाना खुवाउनकै लागि आर्थिक सहयोग र चन्दा माग्नुपर्ने आवश्यकता नरहेको भन्दै उनले सहयोग गर्न महानगर तयार रहेको पनि बताए ।

श्रम गरी खानेहरूका लागि कुनै समस्या नभएको भन्दै श्रम गरी खानेहरूलाई प्रोत्साहन गर्न सबैसँग आग्रह गरे ।

‘काम नगरी खाने प्रवृत्तिको अन्त्य र श्रम गरी खानेलाई प्रोत्साहन गर्नुपर्छ भन्ने हाम्रो मान्यता हो । कोभिडका कारण रोजगारी गुमाएकालाई श्रममा आधारित रोजगारीका अवसर दिन महानगरपालिका तयार छ,’ उनले भने ।

खुलामञ्चमा गएर आर्थिक सहयोग गर्ने सांसदहरूतर्फ संकेत गर्दै उनले महानगरपालिकालाई असहयोग गर्नेगरी गरेको प्रचारले समस्या समाधान नहुने भएकाले सबै मिलेर उपाय खोज्नुपर्ने बताए ।

संघीय सरकार, प्रदेश सरकार र स्थानीय तहको समन्वयमा पाँच हजार बेडको आइसोलेशन बेड निर्माण गर्ने भनेको स्मरण गराउँदै कतिपय अवस्थमा महानगरपालिकाले नै निर्माण गर्ने भनी समाचार आएको र त्यसमा केही भ्रम पर्न गएको बताए ।

उनले महानगरपालिकालाई आर्थिक अभाव रहेकोले आवश्यक समन्वय भए जटिल समस्याहरूलाई समाधान गर्न आफूहरू रहेको बताए ।