Rumpum Advertisement
Dazzu

सुदूरपश्चिममा कोरोना संक्रमितको उपचार निःशुल्क

सुदूरपश्चिममा कोरोना संक्रमितको उपचार निःशुल्क

काठमाडाैं, २४ कात्तिक । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले कोरोना संक्रमितको उपचारमा कुनै कमी नगर्न निर्देशन दिएका छन् ।

सोमबार मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालयमा सरोकारवालाहरूसँग छलफल गर्दै मुख्यमन्त्री भट्टले कोरोना संक्रमितको उपचारमा कुनै कमी नगर्न निर्देशन दिएका हुन् ।

प्रदेशका सबै अस्पतालहरूमा अक्सिजन बेड थप्नसमेत निर्देशन दिँदै मुख्यमन्त्री भट्टले प्रदेशको स्वास्थ्य अवस्था र उपलब्ध उपकरणका बारेमा जानकारी लिएको र भविष्यमा आउन सक्ने संकटलाई मध्यनजर गर्दै पूर्वाधार निर्माण गर्न निर्देशन दिएको बताए ।

अस्पतालहरूका अक्सिजनको आपूर्ति नियमित राख्न र आवश्यक परेमा ५० शैय्याको थप एक अस्पताल निर्माणको तयारी थाल्नसमेत निर्देशन दिएको मुख्यमन्त्री भट्टले बताए ।

उनले सुदूरपश्चिममा कोरोना संक्रमितको निःशुल्क उपचार भइराखेको समेत बताए । छलफलमा सहभागी सुदूरपश्चिम प्रदेशका स्वास्थ्य निर्देशक डा. गुणराज अवस्थीले प्रदेशमा स्वास्थ्य पूर्वाधारलाई व्यवस्थित पार्ने काम भइरहेको बताए ।

छलफलमा सामाजिक विकास मन्त्रालयका जनस्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र कार्की, प्रदेश स्वास्थ्य निर्देशक डा. गुणराज अवस्थी, सेती प्रादेशिक अस्पताल विकास समिति अध्यक्ष दुर्गाप्रसाद जोशीलगायतको सहभागिता रहेको थियो ।