Rumpum Advertisement
Dazzu

तिहारका लागि सेलरोटी पकाउने विधि

तिहारका लागि सेलरोटी पकाउने विधि

विराटनगर, २४ कात्तिक । दसैँपछिको दोस्रो ठूलो चाड तिहार नजिकिएको छ ।

तिहार नजिकिँदै जाँदा घरघरमा गुलिया रोटीको परिकार पकाउनसमेत सुरु हुन थालेको छ । तिहारको विशेष परिकार हो, सेलरोटी । सेलरोटी सबै जातजाति, धर्म, संस्कृति तथा जुनसुकै ठाउँ र चाडपर्वमा केटाकेटीदेखि बूढाबूढीसम्म सबैले रुचाउने गर्छन् । अधिकांश सबैलाई मन पर्ने सेलरोटी पकाउन सजिलो भने छैन ।

सेलरोटी बनाउनका लागि राम्रोसँग तैरिने खालको गाहिरो र सम्म पिँध भएको कराई या ताई, एक फिट लामो बाँसका दुई मोटो सिन्का, पानीको बोतललाई आधा काटेको मुखतिरको भाग र सेल राख्ने नाङ्लो चाहिन्छ । यसपालिको तिहारमा सजिलैसँग सेलरोटी बनाउन सिकौं ।

सेलरोटी बनाउन चाहिने सामग्री : सेलरोटी बनाउनका लागि चाहिने पिठोका लागि आवश्यकताअनुसार चामल, घ्यु, पानी र तेल चाहिन्छ । सेलरोटी पकाउन पुरानो चामलको राम्रो हुन्छ । घ्यूले रोटीलाई फुलाउने, नरम बनाउने र सुगन्धित बनाउने काम गर्छ । चिनीको साटो सक्खर वा चिनीविनाको सेलरोटी पनि बनाउन सकिन्छ । भटमासको प्रशोधित तेल सेलरोटी पकाउन प्रयोग गरिन्छ । वा अन्य तेल पनि प्रयोग गर्न सकिन्छ । पानीको सट्टा दूधको प्रयोगसमेत गर्न सकिन्छ । र, रोटी फुलाउनका लागि खाने सोडा र स्वादका लागि अलैची, ल्वाङ तथा काजु राख्न सकिन्छ ।

सेलरोटी बनाउने बिधि : चामललाई राम्ररी पखालेर रातभर भिजाउने, भोलिपल्ट चामलबाट पानी हटाउने र थोरै–थोरै गर्दै पिठो बनाउनु पर्छ । चामल पिन्न सकेपछि पिठोमा घ्यु, चिनी र बिस्तारै थोरै–थोरै पानी राख्दै मज्जाले मोल्नु पर्छ । धेरै बाक्लो पेस्टमा पनि राम्रो सेल बन्दैन । पेस्ट पातलो भएको खण्डमा मैदा वा चामलको पिठो थोरै थपेर फेरि राम्ररी मोल्न सकिन्छ । उक्त पेस्टलाई एकदेखि दुई घन्टा छोपेर छाडिदिने गर्नु पर्छ । यसो गर्दा पेस्टमा रहेका सबै कुराहरू राम्रोसँग घोलिन्छ ।

तातेको कराईमा भाँडोको दुई इन्च माथिसम्म आउने गरी तेल राखेर तात्न दिनु पर्छ । अब तातेको तेलमा काटेको बोलतको सहायताले मुछेको पेस्टलाई सेलरोटीको आकार हुने गरेर मिलाएर हाल्नु पर्छ । सेल गोलो नभएको खण्डमा सिन्काको सहायताले बिस्तारै मिलाउन सकिन्छ । सेललाई राम्रोसँग पाक्ने गरेर दुबैपट्टी फर्काएर सुनौलो खैरो नहुन्जेल पकाउनु पर्छ । तातो सेलरोटी तयार भयो । यसलाई अचार वा चियासँग खान रुचाइन्छ ।