Rumpum Advertisement
Dazzu

जिदानले लिए हारको जिम्मा

जिदानले लिए हारको जिम्मा

विराटनगर, २४ कात्तिक । स्पेनिस क्लब रियल मड्रिडका प्रशिक्षक जिनेदिन जिदानले आइतबार राति भ्यालेन्सियाविरुद्धको लज्जास्पद हारको जिम्मा लिएका छन् । खेलपछि पत्रकारसँग बोल्दै जिदानले हारको जिम्मा लिँदै समस्याको समाधान खोज्नुपर्ने बताए ।

साविक विजेता रियलले आफ्नो आठौं खेलमा भ्यालेन्सियासँग ४–१ गोलको हार ब्यहोरेको थियो । भ्यालेन्सियाको मैदानमा घरेलु टोलीले ३ वटा पेनाल्टी गोल गरेको थियो । भ्यालेन्सियाका कार्लोस सोलेरले तीन पेनाल्टी प्रहार गर्दै ह्याट्रिक गरे ।

घरेलु टोलीले एउटा आत्मघाती गोल उपहारमा पाएको थियो । राफेल भरानेले आत्मघाती गोल गरेका थिए । रियलका लागि करिम बेन्जेमाले एक गोल गरेका थिए । ‘सुरुआतमा हामीले गोल गर्दा खेलमा आश पलाएको थियो । तर, पछि खेल परिवर्तन भयो । हामीलाई खै के भयो । हाम्रो खेल बुझ्न कठिन भयो’, उनले भने ।

जिदानले रियलभन्दा भ्यालेन्सिया अब्बल नभएको बताए । ‘मलाई लाग्दैन कि भ्यालेन्सिया रियलभन्दा अब्बल छ । तथापि, हारको जिम्मा मैले लिनुपर्छ किनकि मैले समाधान खोज्नुपर्छ’, उनले भने ।

जितसँगै भ्यालेन्सिया नवौं स्थानमा उक्लिएको छ । उसले ९ खेलबाट ११ अंक जोडेको छ । पराजित रियल भने ८ खेलबाट १६ अंकसहित चौथो स्थानमा झरेको छ ।