Rumpum Advertisement
Dazzu

सरकराद्वारा अस्थीरता र भ्रष्टाचारलाई प्रश्रय : सिंह

सरकराद्वारा अस्थीरता र भ्रष्टाचारलाई प्रश्रय : सिंह

काठमाडौ, २४ कात्तिक । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले कम्युनिष्ट नेतृत्वको सरकारले देशमा जहिले पनि अस्थीरता र भ्रष्टाचारलाई मात्रै प्रश्रय दिएको बताएका छन् ।

पहिलो संविधानसभादेखि अहिलेसम्म कम्युनिष्टहरुले जनताबाट अत्यधिक मत पाएको तर सत्तामा पुगेपछि अस्थीरता र भ्रटाचारबाहेक केही पनि दिन नसकेको बताए ।

गणेशमान सिंहको १०६ औं जन्मजयन्तीको अवसरमा गणेशमान सिंह फाउन्डेसनले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै नेता सिंहले अहिले पनि झण्डै दुई तिहाईको बहुमत पाएको नेपाल कम्युनिष्ट पार्टीको सरकारले जनतालाई अस्थीरता र भ्रष्टाचार मात्रै दिएको बताए ।

पहिलो संविधानसभामा जनताले म्यान्डेड दिए पनि संविधान जारी नगरी भंग गरेको र अहिले पनि संविधानको कार्यान्वयन गर्न दिएको म्यान्डेडविपरित अस्थीरता र भ्रष्टाचारलाई बढवा दिएको सिंहले बताए । बालुवाटारको ललिता निवास जग्गा प्रकरण, सकेक्युरिटी प्रिन्टिङ प्रेस काण्ड, वाइडबडी न्यारोबडी काण्ड बाहिर आउँदासमेत सरकारले कसैलाई कारवाही नगरेको नेता सिंहले बताए ।

प्रधानमन्त्रीले आफूले पनि भ्रष्टाचार गर्दिन र अरुलाई पनि गर्न दिन्नँ भन्ने तर आफ्नै पार्टीका नेताहरु संलग्न भएका घोटलाहरुमा उनले नै संरक्षण गर्ने काम गरिराखेको बताए । कोरोना रोकथाम तथा नियन्त्रणमा सरकारले गर्नुपर्ने न्यूनतम कामसमेत गर्न नसकेको उनको आरोप छ ।

कोरोनाका कारण उत्पन्न पछिल्लो परिस्थितिमा जनतालाई राहत दिनुपर्नेमा सरकारले औषधि र उपकरण खरिदमा घोटला गरेको उनको भनाइ छ । सरकारले कोरोना महामारी रोकथाममा न्यूनतम काम पनि नगर्ने र पछिल्लो समय हामी गर्न सक्दैनौं भन्दै पछि हटेकोसमेत बताए ।

सरकारले कोरोना रोकथामको लागि न्यूनतम कामसमेत गर्न नसक्दा जनता दुःखी भएको पनि नेता सिंहले बताए ।

सरकारले संघीयताको भावना विपरित एकपछि अर्को काम गरिराखेको आरोपसमेत नेता सिंहले लगाएका छन् । संविधानले देशमा तीन तहको सरकारको व्यवस्था गरे पनि प्रधानमन्त्रीले संघीय सरकारकै इकाईको रुपमा प्रदेश र स्थानीय तहलाई लिएको बताए ।

नेपाली जनताले गणेशमान सिंह जस्तै चरित्रवान, स्वच्छ छवि भएका राजनीतिज्ञको चाहना गरेको उल्लेख गर्दै अहिलेका नेताहरु पनि सच्चिनुपर्ने उनले बताए ।