Rumpum Advertisement
Dazzu

दिल्ली पहिलो पटक आईपीएलको फाइनलमा

दिल्ली पहिलो पटक आईपीएलको फाइनलमा

विराटनगर, २४ कात्तिक । दिल्ली क्यापिटल्स यूएईमा जारी १३औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) को फाइनलमा प्रवेश गरेको छ । आइतबार राति भएको दोस्रो क्वालिफायरमा दिल्लीले सनराइजर्स हैदराबादलाई १७ रनले हराउँदै फाइनलमा स्थान बनाएको हो ।

शेख जायद क्रिकेट स्टेडियम दिल्लीले दिएको १९० रनको लक्ष्य पछ्याएको हैदराबादले निर्धारित २० ओभर खेल्दा ८ विकेटको क्षतिमा १७२ रन मात्र बनायो ।

हैदराबादका केन विलिमिसनले ६७ रनको अर्धशतकीय रनको पारी खेले भने अब्दुल सामदले ३३ रन बनाए । मनिष पाण्डेले ११ रन बनाउँदा प्रियम गार्गले १७ रन जोडे ।

दिल्लीका कागिसो रबाडाले ४ विकेट लिए भने मार्कुस स्टोइनिसले ३ विकेट लिए । अक्षर पटेलको नाममा १ विकेट रह्यो ।

यस खेलमा दिल्लीले नेपाली लेग स्पीनर सन्दीप लामिछानेलाई भने बेन्चमा राखेको थियो ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको दिल्लीले निर्धारित २० ओभर खेल्दा ३ विकेटको क्षतिमा १८९ रन बनायो ।

दिल्लीका लागि शिखर धवनले अर्धशतकीय इनिङ्स खेले । ५० बल खेलेका धवनले ६ चौका र २ छक्काको सहायतामा ७८ रन बताए । यस्तै सिम्रन हेटमेरले अजिवति ४२ रन बनाए भने मार्कुस स्टोइनिसले ३८ रन जोडे ।

कप्तान श्रेयस ऐयरले २१ रन जोड्दा रिषव पन्त २ रनमा अजिवित रहे ।

हैदराबादले सन्दीप शर्मा, जासोन होल्डर र रशिद खानले समान १–१ विकेट झारे ।

यससँगै दिल्ली आईपीएलको इतिहासमा पहिलोपटक फाइनलमा स्थान बनाएको छ ।

अब उपाधिका लागि दिल्लीले मुम्बई इन्डियन्ससँग खेल्नेछ । फाइनल खेल मंगलबार दुबईमा हुनेछ । हैदराबाद भने प्रतियोगिताबाट बाहिरिएको छ ।