Rumpum Advertisement
Dazzu

उखु किसान पुनः आन्दोलित

उखु किसान पुनः आन्दोलित

विराटनगर, २४ कात्तिक । चिनी उद्योगीले उखु किसानको बक्यौता भुक्तानी नगरेपछि उखु किसानले पुनः आन्दोलनमा जाने घोषणा गरेका छन् ।

चिनी उद्योगले उखु किसानलाई बुझाउनुपर्ने बक्यौता रकम छठलगत्तै नपाए २७ मंसिरदेखि पुनः आन्दोलनमा जाने घोषणा गरेका हुन् । आइतबार उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टलाई ज्ञापनपत्र बुझाउँदै उखु किसानले बक्यौता रकम नपाएकाले आन्दोलनमा जानुपर्ने बाध्यता भएको बताएका छन् ।

उखु किसान संघर्ष समिति सर्लाहीका अध्यक्ष रामस्वार्थ रायले विगतमा भएको सहमतिसमेत अहिलेसम्म कार्यान्वयन नभएको बताए । उनले भने, ‘सरकारसँग भएको सहमतिअनुसार गत २५ माघभित्रै सबै बक्यौता पाउनुपर्ने थियो । तर, सम्झौता भएअनुसार हामीले बक्यौता पाएका छैनौं । छठसम्म बक्यौता नपाए २७ मंसिरबाट काठमाडौंको माइतीघर मण्डलामा सबै किसान आएर आन्दोलन गर्नेछौं ।’

उखु किसानको ४१ रुपैयाँ करोड भुक्तानी नगरी उद्योग बन्द भएपछि किसानले दसैंअघि नै बाँकी भुक्तानी गर्ने पर्ने माग गत २६ कात्तिकमा संसदीय समितिमा ज्ञापनपत्रसमेत बुझाएका थिए । उखु किसान संघर्ष समिति सर्लाहीका अध्यक्ष रायले किसानमाथि चरम अन्याय हुँदा पनि सरकार मूकदर्शक भएको बताए । उनले सरकार नै मूकदर्शक भएपछि आन्दोलनमा जानुपर्ने बाध्यता भएको बताए । उनले चिनी उद्योगीबाट अझै ५० करोडभन्दा बढी रकम लिन बाँकी रहेको बताए ।

तीन वर्ष चिनी उद्योगीले किसानको बक्यौता रकम नदिएपछि काठमाडौंमै आएर आन्दोलन गरेका थिए । आन्दोलनपछि १८ पुस २०७६ मा मन्त्रालयले उखु किसानसँग ५ बुँदे सम्झैतासमेत गरेको थियो । मन्त्रालयले तत्काल भुक्तानीको वातावरण बनाउने र मिल मालिकको सम्पत्ति बिक्री गरेर भए पनि सम्पूर्ण बक्यौता चुक्ता गर्ने आश्वासन दिएको थियो । तर, एक वर्ष पुग्नै लाग्दा किसानहरूले अझै उखुको पैसा पाएका छैनन् । आजको राजधानी दैनिकमा समाचार छ