Rumpum Advertisement
Dazzu

भ्यालेन्सियासँग रियल मड्रिडको लज्जास्पद हार

भ्यालेन्सियासँग रियल मड्रिडको लज्जास्पद हार

विराटनगर, २४ कात्तिक । स्पेनिस ला लिगामा साविक विजेता रियल मड्रिडले लज्जास्पद हार ब्यहोरेको छ । आइतबार राति आफ्नो आठौं खेल खेलेको रियलले भ्यालेन्सियासँग ४–१ गोलको हार ब्यहोरेको हो ।

भ्यालेन्सियाको मैदानमा घरेलु टोलीले ३ वटा पेनाल्टी गोल गरेको थियो । भ्यालेन्सियाका कार्लोस सोलेरले तीन पेनाल्टी प्रहार गर्दै ह्याट्रिक गरे । घरेलु टोलीले एउटा आत्मघाती गोल उपहारमा पाएको थियो । रियलका लागि करिम बेन्जेमाले एक गोल गरेका थिए ।

खेलमा रियलले सुरुआती अग्रता बनाएको थियो । खेलको २३औं मिनेटमा मार्सेलोको पासमा बेन्जेमाले गोल गर्दै रियललाई अग्रता दिलाएका थिए ।

खेलको ३५औं मिनेटमा सोलेरले पेनाल्टीमा गोल गर्दै भ्यालेन्सियालाई बराबरीमा फर्काए । ४३औं मिनेटमा राफेल भरानेले आत्घाती गोल गरेपछि पहिलो हाफभरि भ्यालेन्सियाले २–१ गोलको अग्रता बनायो ।

खेलको ५४औं मिनेटमा भ्यालेन्सियाले फेरि पेनाल्टीको मौका पायो । जसमा, सोलेरले गोल गर्दै भ्यालेन्सियालाई ३–१ गोलको अग्रता दिलाए ।

दस मिनेट नबित्दै घरेलु टोलीले पेनाल्टीको अवसर पायो । ६३औं मिनेटमा पाएको सो मौकालाई सोलेरले खेर फालेनन् । र, टोलीलाई ४–१ गोलको जित दिलाए ।

जितसँगै भ्यालेन्सिया नवौं स्थानमा उक्लिएको छ । उसले ९ खेलबाट ११ अंक जोडेको छ । पराजित रियल भने ८ खेलबाट १६ अंकसहित चौथो स्थानमा झरेको छ ।