Rumpum Advertisement
Dazzu

रोनाल्डो घाइते

रोनाल्डो घाइते

विराटनगर, २३ कात्तिक । इटालियन क्लब युभेन्टसका स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले चोट बोकेका छन् । आइतबार बेलुका भएको लाजियोसँगको खेलका क्रममा पोर्चुगिज स्टार रोनाल्डोले चोट बोकेको युभेन्टसका प्रशिक्षक आन्द्रेस पिर्लोले पुष्टि गरेका छन् ।

अन्तिम मिनेटमा थामिन नसक्दा इटालियन सिरी ‘ए’मा साविकको विजेता युभेन्टस लाजियोसँग १–१ गोलको बराबरीमा रोकिएको थियो । लाजियोको मैदान स्टेडियो ओलम्पिकोमा युभेन्टसका लागि रोनाल्डोले गोल गरेका थिए भने लाजियोका फिलिपे काइसेडोले गोल गरे ।

खेलको १५औं मिनेटमा जुआन क्वाड्राडोको पासमा रोनाल्डोले गोल गर्दै युभेन्टसलाई अग्रता दिलाएका थिए । खेलको इन्ज्युरी समयमा काइसेडोले गोल गरेपछि युभेन्टस अंक बाँड्न बाध्य भयो ।

खेलको ७६औं मिनेटमा रोनाल्डोले चोट बोक्दै मैदान छोडेका थिए । प्रशिक्षक पिर्लोले उनको स्थानमा पाउलो डेबालालाई मैदान प्रवेश गराएका थिए । खेलपछि पिर्लोले रोनाल्डोले खुट्टामा चोट बोकेको जानकारी दिए ।

‘रोनाल्डो एक महत्त्वपूर्ण खेलाडी हुन् । हाम्रा लागि मात्र होइन, उनी जहाँ–जहाँबाट खेले सबै क्लबका लागि । तर, दुर्भाग्यवस उनलाई एंकल समस्या आइपर्‍यो । यसैले उनी मैदान छोड्न बाध्य भयो’, उनले भने ।

तथापि, पिर्लोले रोनाल्डोको चोटबारे केही जानकारी गराएनन् ।

यस बराबरीसँगै युभेन्टसले दोस्रो स्थानमा उक्लने अवसर गुमाएको छ । ७ खेलबाट १२ अंक जोडेको युभेन्टस तेस्रो स्थानमा छ । लाजियो भने ११ अंकका साथ नवौं स्थानमा छ ।

शीर्ष स्थानमा भने एसी मिलान रहेको छ । ऊसँग १६ अंक छ ।