Rumpum Advertisement

अन्तिम मिनेट थामिन नसक्दा युभेन्टस बराबरीमा रोकियो

अन्तिम मिनेट थामिन नसक्दा युभेन्टस बराबरीमा रोकियो

विराटनगर, २३ कात्तिक । इटालियन सिरी ‘ए’मा साविकको विजेता युभेन्टस बराबरीमा रोकिएको छ । आइतबार बेलुका युभेन्टस लाजियोसँग १–१ गोलको बराबरीमा रोकिएको हो ।

लाजियोको मैदान स्टेडियो ओलम्पिकोमा अन्तिम मिनेट थामिन नसक्दा युभेन्टस बराबरीमा रोकिएको हो ।

युभेन्टसका लागि क्रिस्टियानो रोनाल्डोले गोल गरेका थिए । खेलको १५औं मिनेटमा जुआन क्वाड्राडोको पासमा रोनाल्डोले गोल गर्दै युभेन्टसलाई अग्रता दिलाएका थिए ।

यस्तै खेलको ७६औं मिनेटमा रोनाल्डोले चोट बोक्दै मैदान छोडेका थिए । प्रशिक्षक आन्द्रे पिर्लोले उनको स्थानमा पाउलो डेबालालाई मैदान प्रवेश गराएका थिए ।

खेलकाे इन्ज्युरी समयमा फिलिपे काइसेडाेले गोल गरेपछि युभेन्टस अंक बाँड्न बाध्य भयो ।

यससँगै युभेन्टसले दोस्रो स्थानमा उक्लने अवसर गुमाएकाे छ । ७ खेलबाट १२ अंक जोडेको युभेन्टस तेस्राे स्थानमा छ । लाजियो भने ११ अंकका साथ नवौं स्थानमा छ ।

शीर्ष स्थानमा भने एसी मिलान रहेको छ । ऊसँग १६ अंक छ ।