Rumpum Advertisement
Dazzu

उखु किसानले उद्योग मन्त्री भट्टलाई ज्ञापनपत्र बुझाए

उखु किसानले उद्योग मन्त्री भट्टलाई ज्ञापनपत्र बुझाए

काठमाडाैं, २३ कात्तिक । उखु किसानहरूले चिनी मिलबाट पाउनुपर्ने बक्यौता रकम छिटो भुक्तानी हुने व्यवस्था मिलाइदिन सरकारसँग आग्रह गरेका छन् ।

आइतबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टलाई ज्ञापनपत्र बुझाउँदै उखु किसानहरूले वर्षौंदेखि नपाएको बक्यौता रकम पाउने व्यवस्था मिलाइदिन आग्रह गरेका हुन् ।

उखु किसान संघर्ष समिति सर्लाहीका संरक्षक राकेशकुमार मिश्रले मन्त्रालयले १८ पुष २०७६ मा उखु किसानसँग गरेको सम्झौता अझैपनि कार्यान्वयन नभएको भन्दै छिटोभन्दा छिटो भुक्तानी पाउने व्यवस्था मिलाइदिन आग्रह गरे ।

मन्त्रालयको समन्वयमा उखु किसान र उद्योगीबीच जायजथा बिक्री गरेर भएपनि २०७६ माघ ७ गतेभित्र किसानहरूको सम्पूर्ण बाँकी बक्यौता रकम चुक्ता गर्ने लिखित सम्झौता भएको थियो । तर सरकारले अहिलेसम्म पनि बक्यौता रकम भुक्तानी गराउन नसकेको गुनासो किसानहरूले गरेका छन् । संरक्षक मिश्रले सरकारले नै सम्झौताअनुसार काम नगरी किसानहरूलाई नियोजित पीडा दिइरहेको बताए ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले भने आफूले किसानप्रतिको कर्तव्य नभुलेको बताए । अहिले पनि चिनि उद्योगी संघलाई उपस्थित गराई निकास दिन छलफल चलाउने बताए ।

किसानले पनि भुक्तानी पाउने र उद्योग पनि बच्नेगरी समस्याको समाधान हुने पनि उनले बताए ।

किसानले आफ्नो बक्यौता पाउन पर्खिनुपर्छ भन्ने नभई उद्योगबाट असुुलउपर गराउन प्रक्रियामा जाँदा ढिलो भइरहेको पनि बताए ।

यद्यपि, कतिपय चिनिमिलले किसानको बैंक खाता नहुँदा भुक्तानी दिन रोकिएको बताएको पनि उनले बताए ।

लुम्बिनी सुगर मिल्स सुनवल र श्रीराम सुगर मिल्सबाहेकका चिनी मिलले दिनुपर्ने बक्यौता रकमको समस्या लगभग समाधान हुने चरणमा रहेको पनि मन्त्री भट्टले बताए ।

लुम्बिनी चिनी मिल सुनवलका मालिकको मृत्यु भइसकेको र परिवार सम्पर्कमा नरहेकाले गृह मन्त्रालयलाई उपस्थित गराउन पत्राचार गरिएको बताए ।

त्यस्तै श्रीराम सुगर मिल्सले खारेजीमा गई त्यसबाट असुलउपर हुने रकमबाट किसानलाई भुक्तानी गर्ने मौखिक जानकारी गरकाएको बताए ।

समग्रमा सबै चिनी मिललाई बचाउने र किसानले पनि समयमै भुक्तानी पाउने गरी कसरी समस्याको समाधान गर्न सकिन्छ भन्नेतर्फ मन्त्रालयले काम गरिरहेको पनि मन्त्री भट्टले स्पष्ट पारे ।