Rumpum Advertisement
Dazzu

सामाजिक दूरी कायम गरेर छठ पूजा गर्न पाउनुपर्ने माग

सामाजिक दूरी कायम गरेर छठ पूजा गर्न पाउनुपर्ने माग

विराटनगर, २३ कात्तिक । मोरङका विभिन्न संघसंस्थाले हिन्दूहरूको आस्था र विश्वासको पर्व छठ मनाउन पाउनुपर्ने माग गरेका छन् । विराटनगरमा आइतबार पत्रकार सम्मेलन गरी एक दर्जन संघसंस्थाले पूजा गर्न पाउनुपर्ने माग गरेका हुन् ।

मोरङ प्रशासनले खोला, तलाउमा छठको पूजा गर्न नदिने बताएपछि उनीहरूले आस्थामाथि प्रहार भएको भन्दै विज्ञप्तिमा उल्लेख गरेका छन् । हाम्रो रोग र विभिन्न समस्यासँग लड्न सफलता प्राप्त होस् भनी ब्रत लिने र आफ्नो आस्था र विश्वासको धरोहर छोड्न नसक्ने उनीहरूले बताएका छन् ।

अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ्य दिने कार्यमा बाधा नहोस् भनी उनीहरूले बताएका छन् । सरकारले तोकेको मापदण्ड पालना गरेर छठ पूजा गर्न पाउनुपर्ने झरना चौक छठपूजा समारोह समिति विराटनगरका सचिव अमृतकुमार साहले बताए ।

समाजिक दूरी कायम गरी पर्व मनाउने र सांस्कृतिक कार्यक्रमलागायतका कुनै गतिविधिसमेत नगर्ने उनीहरूले बताएका छन् । पूजाको लागि घाट श्रृगार गर्ने कामसमेत नगर्ने त्रिलोकीनाथ तगा छठपूजा मन्दिर विराटनगरका सचिव सञ्जय मण्डलले बताए ।

कुनै तडकभडक र भीडभाडरहित पूजाको आयोजना गरिने भएकोले स्थानीय प्रशासनले सहयोग गर्नुपर्ने उनीहरूले बताएका छन् ।