Rumpum Advertisement
Dazzu

अनुमतिविना कोरोना अस्पताल सञ्चालन, बन्द गर्न प्रशासनको निर्देशन

प्रमुख जिल्ला अधिकारी भन्छन् ' दैनिक ८० हजार रूपैयाँसम्म उठाएकाे गुनासाे आएकाे छ'

अनुमतिविना कोरोना अस्पताल सञ्चालन, बन्द गर्न प्रशासनको निर्देशनप्रमुख जिल्ला अधिकारी भन्छन् ' दैनिक ८० हजार रूपैयाँसम्म उठाएकाे गुनासाे आएकाे छ'

विराटनगर, २३ कात्तिक । अनुमतिविना विराटनगरकाे म्याक्स अस्पतालले सञ्चालन गरेकाे कोरोना अस्पताल बन्द गर्न प्रशासनले निर्देशन दिएको छ ।

अनुमतिविना कोराना अस्पताल सञ्चालन गर्दै चर्काे शुल्क असुल गरेको पाइएपछि जिल्ला प्रशासन कार्यालय मोरङले तत्काल कोरोना अस्पताल बन्द गर्न निर्देशन दिएको हो ।

विराटनगरको महेन्द्र चोकमा सञ्चालनमा रहेको अस्पतालले कात्तिक पहिलो साताबाट अन्य सेवा बन्द गरेर कोरोना संक्रमितकाे उपचार सुरु गरेकाे थियाे ।

अनुमति र मापदण्ड पूरा नगरी सञ्चालन गरेको पाइएपछि शुक्रबार बन्द गर्न निर्देशन दिइएको मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले जानकारी दिए । ‘अनुमति लिएको छैन, मापदण्डको बारेमा त कुरै नगरौं,’ उनले भने, ‘उपचारका लागि आउने संक्रमितसँग दैनिक ८० हजारसम्म शुल्क उठाएको गुनासो छ ।’

उनका अनुसार संक्रमितलाई दिइने खाने कुरा र बस्ने बेडको व्यवस्था पनि राम्रो छैन । ‘न्यूनतम मापदण्ड पूरा नगरी अस्पताल सञ्चालन गरेको रहेछ,’ उनले भने, ‘कारवाहीका लागि अस्पताललाई स्पष्टिकरण सोधेका छौं ।’

अनुमति नलिई अस्पताल सञ्चालन गरेका कारण बिरामीलाई अन्यन्त्र रेफर गरेर अस्पताल बन्द गरी लिखित स्पष्टिकरण सोधिएको उनले बताए ।

जिल्ला प्रशासन कार्यालय मोरङले अनुगमनपछि शुक्रबार अस्पताल बन्द गर्न निर्देशन दिएको थियो । प्रशासनले महामारीमा लापरवाही किन गरेको भन्दै स्पष्टिकरण सोधेको छ । प्रशासनले संक्रामक रोग निवारण ऐन २०२० अनुसार कारवाही गर्ने चेतावनी दिएको हो ।

शुल्क चर्काे, बिरामी सार्न निर्देशन

प्रमुख जिल्ला अधिकारी निरौलाका अनुसार अस्पतालले महँगो शुल्क लिएकाे पाइएपछि सरकारले तोकेको शुल्क लिन निर्देशन दिइएको छ । ‘राज्यले तोकेको शुल्कभन्दा महँगो शुल्क लिएका रहेछन्,’ उनले भने, ‘बिरामीले एक दिनको ८० हजारसम्म तिरेको गुनासो गरे ।’

म्याक्स अस्पतालका प्रशासन प्रमुख हेमनारायण मेहताका अनुसार अस्पतालले कोरोना संक्रमितको उपचारका लागि दैनिक शुल्क १० हजार, १५ हजार, २० र ३० हजार शुल्क तोकेको छ । उनका अनुसार भेन्टिलेटरमा बस्ने बिरामीले दैनिक ३० हजार शुल्क तिर्नुपर्छ ।

उनले कोभिड संक्रमितको उपचारका लागि स्वीकृति नलिएकाे बताए । ‘दसैँअघि सुरु गरेका हौं, सामाजिक विकास मन्त्रालयका अनुमति मागेका छौं,’ उनले भने, ‘तर अनुमति भने आइसकेको छैन ।’ उनले स्थानीय सरकारले भने अस्पताल सञ्चालनका लागि अनुमति दिएकाे बताए ।

प्रशासनको पत्रपछि अस्पतालले नयाँ बिरामी भर्ना गर्न छाडेको बताउँदै उनले ११ जना कोरोना संक्रमित उपचाररत रहेको जानकारी दिए ।

‘नयाँ बिरामी भर्ना लिएका छैनौं,’ उनले भने, ‘पहिलेकै बिरामी उपचाररत हुनुहुन्छ ।’

सरकारले तोकेको शुल्कका भरमा संक्रमितको उपचार गर्न नसक्ने बताउँदै उनले काेभिड अस्पताल सञ्चालनका विषयमा सञ्चालक समितिकाे बैठकले निर्णय गर्ने बताए ।