Rumpum Advertisement

भारतद्वारा २८ वटा भेन्टिलेटर सहयोग

भारतद्वारा २८ वटा भेन्टिलेटर सहयोग

काठमाडौ, २३ कात्तिक । भारत सरकारले नेपाललाई भेन्टिलेर सहयोग हस्तान्तरण गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा एक कार्यक्रमका बीच भारतले २८ वटा भेन्टिलेटर सहयोग हस्तान्तरण गरेको हो ।

नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई भेन्टिलेटर हस्तान्तरण गरे । भेन्टिलेटर हस्तान्तरणपछि राजदूत क्वात्राले कोभिड महामारीको समयमा दुबै देशलाई एकअर्काको आवश्यकता रहेको बताए ।

भारतीय सरकार र भारतीय जनताले नेपाललाई गर्ने सहयोग सकारात्मक सहकार्यको भावना भएको उनले बताए । कोभिड संक्रमण सुरु भएदेखि नै दुवै देशले एकअर्कालाई सहयोग गर्दै आएको र भोलिका दिनमा पनि सहयोग जारी रहने उनले बताए ।

स्वास्थ्यमन्त्री ढकालले आफू अफ्ठ्यारोमा भए पनि विगतदेखि नै सहयोग गर्दै आएकोमा धन्यवाद व्यक्त गरे । मन्त्री ढकालले सहयोग प्राप्त भेन्टिलेटर उपयुक्त ठाउँमा पठाउने बताए । संक्रमण दर बढ्दो अवस्थामा रहेको उल्लेख गर्दै उनले बढी सक्रिय संक्रमित र गम्भीरखालका बिरामी भएको ठाउँमा भेन्टिलेटर पठाउने उनले बताए ।

अहिले नेपाल, भारतलगायत विश्वभरि नै कोरोना महामारीको संक्रमण बढ्दो छ । नेपालम दैनिक सयौं जनालाई संक्रमण भइरहेको छ । अहिलेसम्मको तथ्याङ्कअनुसार १ लाख ९१ हजार ६ सय ३६ जनामा संक्रमण देखिएको छ । मन्त्रालयका अनुसार आजसम्म १ हजार ८७ जनाको कोरोनाबाट मृत्यु भएको छ भने १ लाख ५५ हजार ११४ जना संक्रमणमुक्त भएर घर फर्किएका छन् ।