Rumpum Advertisement

अमेरिकी निर्वाचन २०२० को बिजेता जो बाइडेन : ह्वाइट हाउसमा तेश्रो पटकको यात्रा र गरिमामय जिम्मेवारी

अमेरिकी निर्वाचन २०२० को बिजेता जो बाइडेन : ह्वाइट हाउसमा तेश्रो पटकको यात्रा र गरिमामय जिम्मेवारी

विराटनगर, २३ कात्तिक । अमेरिकामा भर्खरै सम्पन्न भएको चुनावको नतिजा आउने क्रममा राष्ट्रपति डोनाल्ड ट्रम्प र जो बाइडेनबीच कडा प्रतिस्पर्धा देखिएको थियो । तर मतपरिणामका लागि महत्वपूर्ण मानिने पेन्सिलिभानिया, जर्जिया, नेभाडा, एरिजोना र उत्तर क्यारोलिना जस्ता महत्वपूर्ण राज्यहरुमा जो बाइडेनले आफ्नो पक्षमा बलियो मत प्राप्त गरेसँगै उनको जितको यात्रा पक्कापक्की जस्तै देखिएको थियो ।

शुक्रबारको र शनिबारसम्म दुवै उम्मेदवारले प्राप्त गरेको मत परिणामको आधारमा जो बाइडेन अब ४६ औं राष्ट्रपति बन्नेछन् भनी पूर्व अनुमान हुन थाले । यसका लागि आवश्यक पर्ने २७० इलेक्टोरेल कलेज भोटको नजिकको यात्रामा रहेका बाइडेनलाई पेन्सिलिभानिया जस्तो महत्वपूर्ण शहरबाट २० इलेक्टोरल मत प्राप्त भएसँगै जितको माइलखुट्टी पार गरे । यससँगै उनले प्राप्त गरेको इलेक्टोरेल कलेज मत २७९ पुगेको छ ।

अमेरिकी चुनाब आयोगले आधिकारिकरुपमा विजय घोषणा गर्नु अघिबाटै विश्वका धेरै राष्ट्रप्रमुखहरुले जो बाइडेनलाई बधाई दिन थालिसकेका छन् । नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले समेत ट्विट गर्दै जो बाइडन र उपराष्ट्रपतिका लागि जित हासिल गरेका कमला ह्यारिसलाई बधाई दिएका छन् ।

चुनावअघि जसरी त्यहाँका मूलधार सञ्चारहरु जो बाइडेनको पक्षमा साथ दिएका थिए, प्रारम्भिक मतगणनाको चरणमा ट्रम्प र बाइडेनबीचको कडा प्रतिस्पर्धाको नतिजाले सबैमा द्वुविधा उत्पन्न गराएको थियो । तर महत्वपूर्ण र निणायक मानिने राज्यहरुवाट राम्रो मत प्राप्त गरेसँगै बाइडेनको जितको यात्रा सुरक्षित हुन पुग्यो ।

जो बाइडेनको ह्वाइट हाउसको यात्रा निश्चित भएसँगै डेलावेयरमा आयोजना भएको एक कार्यक्रममा ‘एकअर्कालाई मौका दिउँ’ भन्दै उनको विपक्षामा मतदान गर्नेहरुलाई आव्हान गरेका छन् । ‘एकअर्काप्रतिको कटु आलोचना गर्ने र चिढ्याउने समय सकिएको छ, एकपटक फेरि एकअर्कालाई सुन्ने समय आएको छ’ भन्दै कार्यक्रममा सबैलाई सम्बोधन गरे । यसरी २०२० मा भएको निर्वाचनमा इतिहासकै सबैभन्दा बढी मत प्राप्त गर्दै जो बाइडेन राष्ट्रपतिमा विजयी भएका छन् ।

को हुन् जो बाइडेन ?

पेन्सिलिभानियाको स्क्राटनर डेलावेयरमा हुर्किएका बाइडेनले १९६८ मा साइराकुज विश्वविद्यालयवाट कानुनमा डिग्री हासिल गर्नुअघि डेलावेयर विश्वविद्यालयमा अध्ययन गरे । १९७० मा उनी न्यु क्यासल काउन्टी काउन्सिलरको रुपमा निर्वाचित भए र सन् १९७२ को राज्यसभा निर्वाचनामा अमेरिकी इतिहासको सबैभन्दा कम उमेर (२९ वर्ष) मा निर्वाचित हुने छैठौं व्यक्ति थिए । बाइडेन लामो समयसम्म सिनेटको विदेश सम्बन्ध समितिको सदस्यरुपमा रहेका थिए र पछि यसको अध्यक्ष पनि भए । उनले १९९१ मा खाडी युद्धको विरोध गरेका थिए तर पूर्वी युरोप युगोस्लाभियामा सन् १९९१ तिर नाटोको गठबन्धनबाट गरिएको हस्तक्षेपलाई समर्थन गरेका थिए ।

बाइडेनले २००२ मा अमेरिकाबाट इराकविरुद्ध गरिने युद्धको प्रस्तावलाई समर्थन गरे, २००७ मा अमेरिकी सेनाको बढ्दो उपस्थितिको विरोध गरे । उनले सन् १९८७ देखि १९९५ सम्ममा सेनेट न्यायिक समितिको अध्यक्षता गरेका थिए । उनले हिंस्रक अपराध नियन्त्रण र कानुन प्रवर्तन ऐन र महिलाविरुद्ध कानुन पारित गर्ने कार्यमा नेतृत्व गरे ।

बाइडेन ६ पटक सिनेटमा निर्वाचित भए र २००८ को उपराष्ट्रपति निर्वाचनको उम्मेदवारीमा जित हासिल गर्दासम्म उनी चौथो वरिष्ठ सिनेटरको रुपमा थिए । उनले उपराष्ट्रपतिमा जित हासिल गरेपश्चात उक्त पदबाट राजीनामा दिए र २०१२ को निर्वाचनमा ओबामा र बाइडेन दुवै निर्वाचित भए । उपराष्ट्रपतिको रुपमा २००८ मा देखिएको आर्थिक मन्दीको प्रतिरोध गर्न पूर्वाधार तयार गर्न ठूलो योगदान पुर्‍याएका थिए ।

हाल २०२० मा सम्पन्न भएको अमेरिकी निर्वाचनमा उनका प्रतिद्वन्द्वी डोनाल्ड ट्रम्पलाई हराउँदै संयुक्त राज्य अमेरिकाको राष्ट्रपतिमा चुनिएका छन् । उनी २०२१ को जनवरीवाट ४६ औं राष्ट्रपतिको रुपमा पदभार ग्रहण गर्नेछन् । यसअघि डेमोक्रेटिक पार्टीको तर्फबाट ४७ औं उपराष्ट्रपतिको रुपमा २००९ देखि २०१७ सम्म राष्ट्रको सेवा गरेका थिए ।

ह्वाइट हाउसमा तेश्रो पटकको यात्रा

जो बाइडेनको लागि यस पटकको अनुभव अलिक फरक रहन सक्छ । उनले यसभन्दा अघि पनि दुई ह्वाइट हाउसको यात्रा तय गरिसकेका छन् । तर यसपटकको यात्रा उनका लागि फरक अनुभव हुन सक्छ । किनकि उनी यस पटक राष्ट्रप्रमुखको रुपमा विशेष जिम्मेवारीका साथ प्रवेश गर्दैछन् ह्वाइट हाउसभित्र ।

७७ वर्षको वृद्धले लोवा ककस र न्यु ह्याम्पशायरमा प्रारम्भिक आवरोधको सामना गर्नु परेको थियो, तर नोभेम्बर ३ मा सम्पन्न भएको निर्वाचनको परिणामले उनलाई सफलतामा पुर्‍याएको छ । डोनाल्ड ट्रम्पले गरेको चुनावी सभाभन्दा बाइडेनले गरेको सभाहरु अलिक फरक देखिन्थे । बाइडेन कोरोना भाइरस संक्रमण थप फैलन सक्नेबारे सतर्क थिए भने डोनाल्ड ट्रम्पलाई यसले खासै फरक पारेन । भूतपूर्व राष्ट्रपति बाराक ओबामाले जो बाइडेनको तर्फबाट बोलेका थिए । यसै क्रममा बाइडेनको तर्फबाट भनेका थिए कि उनीजस्तो उत्कृष्ट उपराष्ट्रपति अमेरिकाले कहिले पनि पाएको थिएन ।

उनी २००८ वाट डेमोक्रेटिक पार्टीमा आए र उपराष्ट्रपतिको रुपमा निर्वाचित भएपश्चात ओबामाको दृष्टिअघि नै रहे । उनले यसअघि ओबामासँगै आठ वर्ष ह्वाइट हाउसमा बिताएका थिए । ओबामासँग रहँदा उनले विशेष अधिकारहरु पाएका थिए जसले गर्दा २००८ मा भएको आर्थिक मन्दीपछि यसमा सुधार गर्नका लागि विशेष आर्थिक प्याकेज ल्याए । ओबामासँगको उनको सम्बन्धलाई भाइचारा सम्बन्धसँग तुलना गरेका छन् । यो सम्बन्धका कारण अफ्रिकी अमेरिकी मतदाताहरुमा उनको सर्मथनका लागि योगदान पुर्‍याएको हुन सक्छ । लामो समयदेखि वासिंटनको आन्तरिक रुपमा बाइडेनसँग ठोस विदशी मामिलासम्बन्धी अनुभवहरु पनि रहेको छ । उनको अनुभवले विदेश नीतिमा रहको कमीहरुलाई पूूरा गर्नका लागि कार्यकारी भूमिकासमेत निर्वाह गरे ।

तर यस पटकको उनको यात्रा र जिम्मेवारीको अनुभव पहिलेको भन्दा फरक रहने छ । उनको जिम्मेवारी पहिलेको भन्दा विशेष र महत्वपूर्ण हुनेछ । सफलता र असफलताको पूर्ण भागिदार रहनुपर्ने जिम्मेवारीमा जाँदैछन् । यसरी उनले ग्रहण गर्ने जिम्मेवारीमा करोडौं अमेरिकी नागरिकले पूर्ण भरोसा गरेका छन् । उनले ल्याएको चुनावी एजेन्डा कार्यान्वयन र सफलतालाई अमेरिकी नागरिकले गम्भीरताको साथ मूल्यांकन गर्नेछन् । अबको जिम्मेवारीमा कसैलाई भागिदार बनाउने वा देखाउने स्थान छैन । जस–अपजसको भागिदार रहनु पर्नेछ । विदेश नीति, कोरोना भाइरसको नियन्त्रण, स्वास्थ्य सेवाहरु सुविधा सम्पन्न बनाइने, आर्थिक नीति, रोजगारी, शिक्षा जस्ता महत्वपूर्ण कार्यहरुको मूल्यांकन हुनेछ ।

बाइडेनका केही तीता अनुभवहरु

१९७२ मा जब पहिलो पटक सिनेटको दौडमा जित हासिल गरेको केही समयपछि उनले आफ्नो पहिलो श्रीमती निलिया र सानो छोरी नाओमीलाई कार दुर्घटनामा गुमाए । उनले सिनेटको पहिलो कार्यकालको सपथग्रहण अस्पतालको एउटा कोठाबाट गरेका थिए जहाँ उनका कार दुर्घटनाबाट बाँचेका दुईवटा साना छोरा बेउ र हन्टरको उपचार भइरहेको थियो । २०१५ मा उनको बेउ नाम गरको छोरा ब्रेन क्यान्सरका कारण ४६ वर्षको उमेरमा मृत्यु भयो । उक्त समयमा राजनीतिको उदाउँदो ताराको रुपमा परिचित थिए । डेलेवेयर राज्यको गर्भनरको रुपमा उनी उक्त समयमा उठ्न चाहेका थिए ।

उक्त समयमा उनले सो घटनाका कारण अमेरिकी जनताबाट राम्रो सद्भाव पाएका थिए । उनले आयोजना गरेका चुनावी सभामा उक्त दुःखदायी घटनाबारे बताए ।

स्रोत : बीबीसी