Rumpum Advertisement
Dazzu

नेपालमा कोभिडको मृत्युदर कम देखिएका केही कारण

नेपालमा कोभिडको मृत्युदर कम देखिएका केही कारण

विराटनगर, २३ कात्तिक । नेपालमा कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुने मानिसको संख्या अन्य देशको तुलनामा थोरै भएको देखिन्छ ।

हाल नेपालमा संक्रमितको संख्या झन्डै दुई लाख पुग्न लागेको बेला ज्यान गुमाउनेको संख्या एक हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको तथ्यांकअनुसार नेपालमा कुल संक्रमितमध्ये ०.५७ प्रतिशतको मात्र ज्यान गएको छ । दक्षिण एशियाका देशमा हेर्दा भारतमा १.५ प्रतिशत मृत्युदर रहेको छ भने बंगलादेशमा १.४ प्रतिशत, पाकिस्तानमा २.० प्रतिशत र अफगानिस्तानमा ३.७ प्रतिशत रहेको छ । नेपालको तुलनामा माल्दिभ्स र श्रीलंकामा मृत्युदर कम छ ।

कोभिड १९ का कारण धेरै उमेरका मानिस गम्भीर हुने गरेको वा मृत्यु हुने देखिन्छ । तर, नेपालमा अत्यधिक युवा जनसंख्या भएका कारण मृत्युदर कम हुने अनुमान लगाइएको छ । नेपालमा केही समयअगाडि कोभिडबाट ज्यान गुमाउनेमध्ये आधाजति ६० वर्षभन्दा माथिको उमेरका भएको जनाइएको थियो । नेपालमा ६० वर्षभन्दा माथि उमेर भएका मानिस कुल जनसंख्याको केवल ८.६ प्रतिशत मात्र छन् ।

जनस्वास्थ्य अनुसन्धाता डा. किरण पाण्डेका अनुसार नेपालमा कोरोना भाइरस संक्रमणका कारण कम मृत्यु हुने जनसांखिक वितरण र सामाजिक संरचना गरी दुईवटा मुख्य कारण हुन सक्छ । पश्चिमा देशमा निकै धेरै मृत्यु वृद्धवृद्धालाई राखिने नर्सिङ होममा भएको पाइएको छ । तर, नेपालमा वृद्धवृद्धा धेरै गाउँघरमै बस्छन् र त्यहाँ संक्रमण पनि कम रहेको उनले बताए ।

साथै, ग्रामीण बस्तीमा कोभिडका कारण कसैले ज्यान गुमाए पनि त्यो जानकारीमा नआउने भएको हुनसक्ने उनको भनाइ छ । त्यस्तै, जनस्वास्थ्यविद् डा. सुशीलनाथ प्याकुरेलका अनुसार बीसीजी खोपको व्यापक प्रयोगले उत्पन्न गरेको प्रतिरोधी क्षमता, अन्य रोगसँग लडेको प्रतिरोध अनुभवले कोभिडसँग लड्न सघाउ पुगेको, विशिष्ट खानपान र सांस्कृतिक रहनसहन हुन सक्छ ।

स्वास्थ्य मन्त्रालयका अवैतनिक सल्लाहकार डा. सुरेश तिवारीले अहिले प्रस्तुत गर्ने गरिएको मृत्युदरमा मात्र भर पर्नुभन्दा थप अध्ययन हुनुपर्ने बताएका छन् ।