Rumpum Advertisement
Dazzu

बोन्साई हुर्काएर छायाको अपेक्षा ?

बोन्साई कला होला रे ! तर त्यसले घामको राप छेक्न र सिँयाल दिन सक्दैन भने त्यो कलाले कुनै पनि नेपालीको पेट भरिँदैन

बोन्साई हुर्काएर छायाको अपेक्षा ?बोन्साई कला होला रे ! तर त्यसले घामको राप छेक्न र सिँयाल दिन सक्दैन भने त्यो कलाले कुनै पनि नेपालीको पेट भरिँदैन
पेशल आचार्य

साहित्यकार मित्र विवश वस्तीजीले बोन्साईको तस्वीरका साथ माथिको वाक्यांश लेखेर पोष्ट गरेपछि अर्का मित्र साहित्यकार माधव सयपत्रीजीले बोन्साईका बारेमा जिज्ञासा राख्नु भयो ।

वहाँले सो वृक्ष कलालाई ‘उसो त बोन्साई भनेको सीमित माटो, सीमित परिवेश र सीमित हावापानीमा रमाउने वृक्षांश हो ।’ भनेर जवाफ फर्काउनासाथ मेरा मनमा आज किन यही विषयमा लेख नलेख्ने भन्ने सोच आयो र मैले लेखक वस्तीजीसँग आफू सोही वाक्यांशमा लेख लेख्ने भएकाले शीर्षक सापटी मागेँ ।

वहाँले स्वीकृतिका शब्दचरु होम्दै भन्नु भयो– ‘अघि बढ्नुस् ।’

‘बोन्साई’ । ‘यो जापानी कला हो । पहिला चीनबाट सुरू भए पनि पछि भने जापानिजहरूले यो कलालाई पछ्याए । एउटा वृक्षबाट पनि कलात्मक सिर्जना पस्किन सकिन्छ भन्ने उत्कृष्ट उदाहरण हो, बोन्साई ।’

तर मेरो आशय भने अलि फरक छ ‘यतिखेर नेपाली शासन व्यवस्था बोन्साई वृक्षको नियति भोगिरहेको छ ।’ यो मैले लेखेको प्रतिक्रिया भयो । कुरोको चुरो यहीँबाट सुरू गरेँ । अहिले नेपाली राजनीतिमा क्रियाशील अभिभावक भनिएका राजनीतिक पार्टीहरू नै बोन्साईका आवरणमा छन् । छन् त सबै पार्टीहरूका व्यवस्थित संगठन छन् । नेता, नीति, कार्यक्रम, विचार र कार्यकर्ताहरूका लहर पनि छन् । नेपाल कम्युनिष्ट पार्टीका देशैभरि गरी तीसौं लाख पार्टी कार्यकर्ताहरु छन् । सत्तरी लाख भोटर र त्यतिकै संख्यामा शुभेच्छुकहरू पनि छन् ।

अर्कातिर नेपाली काँग्रेसकै पनि संसदमा केही कम सिट उपस्थिति भए तापनि बीसौं लाख पार्टी कार्यकर्ता देशैभरि छन् । विचारमा सपाटखालको वीपीको विचार र प्रजातान्त्रिक समाजवादको अवधारणा छ । पार्टी छ । विधान छ । नेता र कार्यकर्ताहरूको विशाल पंक्ति पनि छ । दर्शन, कार्यक्रम र विचारको कुनै कमी छैन ।

यसैगरी संघीय समाजवादीदेखि लिएर विवेकशील, साझा, नेमकिपा, राप्रपा र अन्य झिनामसिना दलहरूको पनि परिचयका मुखौटाहरू छन् । नीति, विचार र अनेक स्टायलका दर्शनहरू त हुने नै भैगए ।

तर के अहिलेको यो कोरोना महामारीमा देशमा पार्टीहरू देश र जनताका लागि अभिभावकको भूमिकामा छन् त ? प्रतिपक्षले आफ्नो निष्पक्ष धर्म निभाएको छ त ? नागरिक समाज, बौद्धिक वर्ग, शिक्षक, प्राध्यापक, पत्रकार र वकिलका संघसंगठनहरूले देशमा रहेका गरिब, गुरुवा, दीनदुःखी, छेउ लागेका वर्ग, दलित, मधेसी र सम्पूर्ण मुक्तिकामी चेतनशील जनतका नाममा नयाँ, सिर्जनशील, भरथेगको काम गर्ने सोच ल्याएर मृत्युको नौटङ्कीका बीच केही राहत र ढाडस दिने कामहरू गरे त ?

गरेनन् । किन गरेनन् भन्दा यी पार्टीहरू अहिले जापानीज बोन्साई कलाझैँ चाउरिएका छन् । टाक्सिएका छन् । मुर्झाएका छन् र आफैँभित्र गुटउपगुट निर्माण गरेर बेपत्तासँग दायित्वबाट क्रमशः पन्सिरहेका छन् । अहिलेको नेपालमा धेरै ठूलो कोलाहल छ । पहिलो कोलाहल देशैभरि ६६२ वटा त विविध हाँच र शक्तिका सरकारहरू क्रियाशील छन् । तिनीहरू अहिले मात्र दुईटा शब्द र एउटा योजकको उल्झनमा परेका छन्– समृद्धि र विकास ।

नेपालका अहिलेसम्म सत्तामा गएका, जान खुट्टा उचालेका, नगएका, भविष्यमा जान चाहनेहरू जोसुकै हुन्, तिम्रो देशले अबको १०, २०, र ३० वर्षमा शिक्षा, स्वास्थ्य, सञ्चार, यातायात, पूर्वाधार विकास, पर्यटन, कृषि, उद्योगधन्दा, प्रशासन र न्यायका क्षेत्रमा के–के विकास गर्नेछन् ? तिमीहरूले सो कुराको खाका बनाएर राखेका छौ कि छैनौ ? देशका स्रोतहरूलाई अत्यधिक उपयोग गर्दै आगामी दशकमा देशलाई भोक, रोग र शोक मुक्त बनाउनु केके उपाय अवलम्बन गरेका छौ भनेर मसक्क आँटेर प्रश्न सोध्ने हो भने तिनीहरूको अनुहार नीर घोलिएको पानीजस्तो हुन्छ । नीलो हुन्छ ।

यस्तो अवस्थामा हामीले बोन्साईको स्मरण गर्नु निकै सान्दर्भिक भएको छ अहिले । बोन्साई कला होला रे ! तर त्यसले घामको राप छेक्न र सिँयाल दिन सक्दैन भने त्यो कलाले कुनै पनि नेपालीको पेट भरिँदैन ।

अहिले नेपालीलाई यी खाल-खालका नेता, प्रकार-प्रकारका दार्शनक अनि किसिम-किसिमका विचारहरू केवल सोकेसमा सजाउने गुडिया मात्र भएका छन् । जो आँखाका लागि चिटिक्क परेर सजिएका छन् । भुँडीमा मुसा कुदेका बेला कुनै काम नलाग्ने ।

राजधानीमा केही सामाजिक संघसंस्थाहरू मिलेर गरिबगुरुवालाई निःशुल्क भोजनादि कार्य गरेका थिए । काठमाडौँ महानगरपालिका र मेयर विद्यासुन्दर शाक्यले देखी सहेनन् । उनले त हाकाहाकी नै भने–‘खाना नै खुवाउने हो भने पार्टी प्यालेसमा लगेर खुवाउन सकिन्छ । यसो गर्दा महानगर र देशको इज्जत रहन्छ । खुलामञ्चमा खुवाएको खानाले देशकै बेइज्जत भयो ।’

पार्टी प्यालेसको कुरा आउनेबित्तिकै त्यहाँ कमिसन र आफ्ना मानिसलाई दिने कामको कुरा हुन्छ । तर अहिले खुलामञ्चमा गएर खाना दिने र खाना खाने मानिसले केही गल्ती महानगरको र केही गल्ती देशको पनि गरेका छैनन् भने माझै मुखले महानगरका पिता भएका र देशको मुटु राजधानीका अभिभावकले जनता तँ भोकै बस् । खाना नखा भन्न मिल्छ । यो त सरासर बाँच्न या खान पाउने मानवअधिकारको सोझै उल्लङ्घन भएन र भन्या ?

हामीले चुनाव जिताएर पठाएका नेता, कार्यकर्ता र शासकहरूको बुद्धि किन यसरी बिग्रिएको हो । के जनतालाई तत्तत् महानगर, उपमहानगर, नगर र गाउँपालिकाहरूले काम र माम दिन सक्दैन । यदि सक्दैन भने हामीले दुःख गरेर ल्याएको यो लोकतन्त्रले कसको सेवा गरिरहेको छ त्यो अब विचार गर्ने बेला आयो ।

अहिले जनस्तरबाट स्थानीय समुदायलाई निरन्तर दवाव दिएर राम्रो काम गराउने बेला छ । अहिले देशले शिक्षा, स्वास्थ्य र सार्वजनिक यातायातमा मात्र राम्रो काम गर्न सक्यो भने त्यो आफैं सार्वजनिक शिक्षाको बाटो भएर, सार्वजनिक स्वास्थ्यको बाटो भएर र सार्वजनिक यातायातको बाटो भएर देशमा समृद्धि र विकास लिएर आउँछ । यसमा दुईमत छैन ।

साहित्यकार मित्र विवश वस्तीजीको फेसबुक पोष्टको आशय पनि हल्का श्याम व्यङ्ग्यका रुपमा देशकै वर्तमान बेथिति, अराजकता र कोलाहललाई देखाइएको पाएँ । हामी नेपाली जनताले आमरुपमा शान्ति, सुरक्षा, अमनचैन र स्वतःस्फूर्तरुपको विकास कहिले पाउने ?

कि हामीले बोन्साई लोकतन्त्रको बिरुवालाई बचाएर विनाताप, विनासिँयाल पानी र मल हालिरहनु पर्ने हो ? प्रश्न यतिखेर यक्ष प्रश्नका रुपमा खडा भएको छ ।

प्रतिक्रिया

Comments are closed.