Rumpum Advertisement
Dazzu

जो बाइडेनद्धारा सम्बोधनमार्फत सहकार्यको आह्वान

जो बाइडेनद्धारा सम्बोधनमार्फत सहकार्यको आह्वान

विराटनगर, २३ कात्तिक । अमेरिकाको ४६ औं राष्ट्रपतिमा विजयी बनेका जो बाइडेनले आफ्नो सम्बोधनमार्फत सहकार्यका लागि आह्वान गरेका छन्।

गृह राज्य डेलवरको विलमिङ्गटनबाट विजयी सम्बोधन गर्दै उनले अमेरिकी नागरिकले आफ्नो आवाज दिएको र त्यो एकता तथा सहकार्यका लागि रहेको बताएका हुन्। पछिल्लो समय विश्मै निक्कै आलोचिन बनेका राष्ट्रपति डोनाल्ड ट्रम्पलाई हराउँदै बाइडेन राष्ट्रपतिमा निर्वाचन भएपछि विश्वमै एक खाले राजनीतिक तरंग आएको छ ।

बाइडेनले सम्बोधन गर्दै , ‘म गर्वले भन्छु डेमोक्र्याट हुँ, तर राष्ट्रपति म सधै अमेरिकीको बन्ने छु । म सेवा त्यसरी गर्ने छु, जसरी मलाई मत दिनेको गर्छु, उसैगरी विपक्षमा मत दिनेको पनि।’ सम्बोधनको क्रममा डोनाल्ड ट्रम्पको नाम लिएका उनले भने, ‘हामी विपक्षी हुन सक्छौँ, शुत्र कदापी होइनौँ।’ उनले ट्रम्पसँग पनि सहकार्य र एकताको आह्वान गरेका छन् ।

उनले आफूले पनि केही चुनावमा हार व्यहोरेको र त्यसको पीडा थाहा रहेको बताउँदै सेवाका लागि अवसर दिन ट्रम्पसँग आग्रह गरे । ट्रम्पप्रति लक्षित गर्दै उनले ‘राक्षसीकरण’ गर्ने समयको अन्त्य गरिनु पर्नेमा जोड दिएका छन् ।

उनले मतभेदलाई पाखा लगाएर जनताको सेवाका लागि सहकार्य गर्नु पर्ने बेला आएको र त्यसको सन्देश चुनावमार्फत अमेरिकीले दिएको भन्दै सिनेट तथा हाउसमा रहेका रिपब्लिकनहरुलाई सहकार्यका लागि अपिल गरे। उपराष्ट्रपतिमा निर्वाचित भएकी कमला ह्यारिसको कथाले सम्भावनाको मार्ग देखाउने बताउँदै बाइडेनले अमेरिकाको परिभाषा एक शब्दमा ‘सम्भावना’ रहेको बताए।

बाइडेनले विश्वलाई नै एकतामा बाँधेर अघि बढ्नुपर्नेमा जोड दिएका छन् । विश्वमै अमेरिकाको नेतृत्व पुनः स्थापित गर्नका लागि आफू प्रतिवद्ध रहेको उनको बताए । उनले चुनावको नतिजा सत्य, समभाव, सम्भावना र एकताको सन्देश रहेको बताए।

बाइडनेले सम्बोधनमा आफ्नो प्रशासनका प्राथमिकताहरु प्रस्तुत गरे। उनले भने, ‘हाम्रो पहिलो र टड्कारो प्राथमिकता भनेको कोरोना भाइरसमाथि जित हाँसिल गर्नु हो। त्यसका लागि विज्ञानको विश्वास गरेर काम तत्काल थालिने छ।’

सुस्त बनेको अर्थतन्त्र उकास्न, संस्थागत रुपमा रहेको रंगभेद अन्त्य गरि सबैलाई समान तथा सम्मानित व्यवहारको स्थापना गर्न, सबैको पहुँचमा पुग्ने स्वास्थ्य सेवाको व्यवस्था गर्न तथा संकटमा आएको पृथ्वीको रक्षाका लागि जलवायु परिवर्तन नियन्त्रणमा राख्नका लागि काम गर्ने उनले बताए।
सम्बोधनको क्रममा उनले दिवंगत छोरा बो बाइडेनको स्मरण पनि गरे। उनले सबैलाई विश्वास र आस्थाको ठाउँ पुग्ने देश अमेरिका बनाउन आफ्नो प्रयास रहने बताए।

जो बाइडेनका समर्थकले अमेरिकाका शहरहरुमा विजय उत्सव मनाइरहेका छन् । उनका समर्थकहरुले अमेरिकाभर उत्सव मनाउन थालेको अमेरिकी सञ्चारमाध्यमले जनाएको छन्। बाइडेनको जितसँगै अमेरिकाको इतिहासमा नयाँ अध्याय सुरु भएको र देश एकीकरणको मार्गमा अघि बढ्ने अपेक्षा रहेको उनका समर्थकले बताएका छन्।

अमेरिकामा राष्ट्रपति निर्वाचनका लागि नोभेम्बर ३ मा मतदान भएको थियो। कोरोना भाइरसको महामारीका कारण यो वर्ष १० करोड भन्दा बढी अमेरिकीले अग्रिम मतदान गरेका थिए।

४८ वर्ष पहिले डेलवरबाट सिनेट सिटमा विजयी भएका बाइडेन अहिले राष्ट्रपति निर्वाचित भएका हुन्। उनी अमेरिकाको इतिहासमा सबैभन्दा पाको उमेरमा राष्ट्रपतिको जिम्मेवारी सम्हाल्ने व्यक्ति बन्दै छन्। उनी तेस्रो पटकको प्रयासमा राष्ट्रपतिमा निर्वाचित भएका हुन्।

सन् २००८ देखि २०१६ सम्म पहिलो अश्वेत राष्ट्रपति बाराक ओबामको साथमा उपराष्ट्रपतिका रुपमा जिम्मेवारी सम्हालेका बाइडेनले आफ्नो उपराष्ट्रपतिका रुपमा अश्वेत महिला कमला ह्यारिसलाई चयन गरेका छन्। ह्यारिस अमेरिकाको इतिहासमा उपराष्ट्रपतिमा निर्वाचित हुने पहिलो महिला र पहिलो अश्वेत महिला हुन्।

अमेरिकाको इतिहासमा जो बाइडेन सबैभन्दा धेरै मत पाएर राष्ट्रपतिमा निर्वाचित हुने व्यक्ति बनेका छन्। बाइडेन विजयी भएसँगै राष्ट्रपति डोनाल्ड ट्रम्पको दोस्रो कार्यकालको सपना टुंगिएको छ । दोस्रो विश्वयुद्ध यता दोस्रो कार्यकालका लागि निर्वाचित नहुने ट्रम्प तेस्रो राष्ट्रपति हुन्।

डेलवरस्थित घरमा रहेका बाइडेनले राष्ट्रपतिमा निर्वाचित भएपछि पूर्व राष्ट्रपति बाराक ओबामा, हाउस अफ रिप्रिजेनटेटिभकी सभामुख न्यान्सी पेलोसी, सिनेटका माइनोरिटी लिडर चक सुमरसहितका नेतासँग टेलिफोन वार्ता गरेको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन्।

बाइडेन निर्वाचित भए पनि ट्रम्पले त्यसलाई स्वीकार गरेका छैनन् । उनले बाइडेनलाई बधाई दिन अस्वीकार गरेको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन्। उनले लगातार धाँधलीको आरोप लगाएका छन् र आफूबाट नतिजा खोसिएको आरोप लगाउँदै आएका छन्। तर त्यसको कुनै पनि प्रमाण भने अहिलेसम्म नभेटिएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन्।