Rumpum Advertisement

शानदार जित निकाल्दै एथ्लेटिको ला लिगाको शीर्ष स्थानमा

शानदार जित निकाल्दै एथ्लेटिको ला लिगाको शीर्ष स्थानमा

विराटनगर, २३ कात्तिक । एथ्लेटिको मड्रिड स्पेनिस ला लिगाको शीर्ष स्थानमा उक्लिएको छ । शनिबार राति भएको खेलमा कार्डिजमाथि ४–० गोलको शानदार जित निकाल्दै एथ्लेटिको शीर्ष स्थानमा उक्लिएको हो ।

एथ्लेटिकोले ७ खेलबाट १७ अंक बनाउँदै शीर्ष स्थान बनाएको हो । समान १७ अंक भएको रियल सोसिडाड गोलान्तरको आधारमा दोस्रो स्थानमा छ । पराजित कार्डिज भने १४ अंकसहित छैटौं स्थानमा छ ।

एथ्लेटिकोको मैदानमा घरेलु टोलीको जितमा जाओ फेलिक्सले दुई गोल गर्दा मार्कोस लोरेन्टे र लुइस स्वारेजले समान १–१ गोल गरे ।

खेलको आठौं मिनेटमा फेलिक्सले गोल गर्दै एथ्लेटिकोलाई सुरुआती अग्रता दिलाए । २२औं मिनेटमा लोरेन्टेले गोल गरेपछि पहिलो हाफभरि एथ्लेटिकोले २–० गोलको अग्रता बनायो ।

५१औं मिनेटमा स्वारेजले गोल गर्दै एथ्लेटिकोको अग्रता तेब्बर बनाउँदा फेलिक्सले ९०औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै ४–० गोलको शानदार जित दिलाए ।