Rumpum Advertisement
Dazzu

बाइडेन अमेरिकाको ४६ औं राष्ट्रपति

बाइडेन अमेरिकाको ४६ औं राष्ट्रपति

विराटनगर, २३ कात्तिक । जोसेफ रोविनेट बाइडेन अमेरिकको ४६ औँ राष्ट्रपति निर्वाचित भएका छन् ।

बाइडेन राष्ट्रपति र कमला ह्यारिस उपराष्ट्रपतिमा निर्वाचित भएका हुन् । ह्यारिस अमेरिकी इतिहासमा उपराष्ट्रपति हुने पहिलो महिला हुन् । ह्यारिसले अर्को एक इतिहास बनाएकी छन् । उनी अमेरिकाको इतिहासमा पहिलो अस्वेत र भारतीय मूलकी महिला उपराष्ट्रपति हुन् । आगामी जनावरी २० तारिखमा ह्वाइट हाउसमा आयोजना हुने विशेष कार्यक्रममा बाइडेनले आधिकारिक रुपमा राष्ट्रपतिको कार्यभार सम्हाल्नेछन् ।

वाराक ओबामाको कार्यकालमा उनी उपराष्ट्रपति थिए । ७८ वर्षीय बाइडेन २७० इलेक्टोरल कलेज भोट आवस्यक पर्नेमा २८४ भोट ल्याउँदै विजयी भएका हुन् । निकटतम प्रतिस्पर्धी डोनल्ड ट्रम्पले भने २१४ भोट मात्रै ल्याए ।

निर्णायक राज्य मानिएको पेन्सिल्भेनियामा बाइडेन र ह्यारिसले जितेसँगै सिएनएन, बीबीसी, एपी लगायत अन्तराष्ट्रिय मिडियाले डेमोक्रेट उम्मेदवारहरुले जितेको जनाएका हुन् । यसबीचमा अमेरिकामा ट्रम्प र बाइडेन दुबैका समर्थकहरु आन्दोलित बनेका छन् । झण्डै एक साता लागेर सम्पन्न भएको यसपटकको अमेरिकी निर्वाचन ऐतिहासिक मानिएको छ । सबैभन्दा धेरै मतदाता यसपटक थिए । साथै हुलाक मार्फत पनि मतदान गरिएको थियो ।

यसवाहेक कोरोना महामारीका बीच निर्वाचन सम्पन्न भएको हो । नोभेम्बर ३ मा सुरु निर्वाचनको मतगणना भने नोभेम्बर ७ मा मात्रै सम्पन्न भएको छ । मतगणनाको अन्तिम चरणसम्म आइपुग्दा पनि दुई उम्मेदवारबीच कडा प्रतिस्पर्धा नै थियो ।

यससँगै ट्रम्प दोस्रो कार्यकाल चलाउन नपाउने अमेरिकाका थोरै राष्ट्रपतिमध्ये एक हुन् । सामान्यतः अमेरिकामा दुई कार्यकालसम्म राष्ट्रपति बन्ने चलन छ ।

मतगणनाको परिणामको प्रतीक्षामा तीन दिनदेखि बेचैन रहेका विशेषतःअमेरिकी र विश्वभरका जनता तथा राजनीतिज्ञलाई यो परिणमले शान्त बनाएको छ । विश्व भूराजनीतिमा अग्रिम भूमिका खेल्दै आएको अमेरिकी राष्ट्रपतिय निर्वाचनको परिणामले अमेरिकाको राजनीतिमा नयाँ बाटो तय गरेको छ ।

विश्वमै निक्कै आलोचित बनेका राष्ट्रपति डोनाल्ड ट्रम्पलाई हराउन कडा प्रतिस्पर्धा र लामो रस्साकस्सीपछि लोकप्रिय उम्मेदवार बाइडेनले सकेको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।