Rumpum Advertisement
Dazzu

बार्सिलोनाको शानदार जितमा मेस्सीको दुई गोल

बार्सिलोनाको शानदार जितमा मेस्सीको दुई गोल

विराटनगर, २३ कात्तिक । स्पेनिस ला लिगामा बार्सिलोनाले शानदार जित निकालेको छ । शनिबार राति भएको खेलमा बार्सिलोनाले रियल बेटिसलाई ५–२ गोल अन्तरले पराजित गरेको हो ।

बार्सिलोनाको मैदान क्याप नोउमा भएको खेलमा घरेलु टोलीलाई जिताउन कप्तान लियोनल मेस्सीले दुई गोल गर्दा ओस्मान डेम्बेले, एन्टोइन ग्रिजम्यान र पेड्रीले समान एक–एक गोल गरे ।

बेटिसका एन्टोनियो सनाब्रिया र लोरेन्जो लुइस मोरोन गार्सियाले एक–एक गोल गरे ।

खेलको २२औं मिनेटमा ग्रिजम्यानको पासमा डेम्बेलेले गोल गर्दै घरेलु टोलीलाई सुरुआती अग्रता दिलाएका थिए ।

खेलको ३३औं मिनेटमा ग्रिजम्यान पेनाल्टीमा चुकेपछि बार्सिलोनाले दोब्बर अग्रता बनाउने अवसर खेल फालेको थियो ।

पहिलो हाफको इन्ज्युरी समयमा सनाब्रियाले गोल गर्दै बेटिसलाई खेलमा फर्काए । ४९औं मिनेटमा ग्रिजम्यानले जोर्डी अल्बाको पासमा गोल गर्दै खेलमा अग्रता बनाए ।

६०औं मिनेटमा ऐसा मन्डीले रातो कार्ड पाएपछि बेटिस १० खेलाडीमा सीमित भयो र बार्सिलोनाले पेनाल्टीको मौका पायो ।

वैकल्पिक खेलाडीका रूपमा मैदान प्रवेश गरेका कप्तान मेस्सीले ६१औं मिनेटमा पेनाल्टीमा गोल गर्दै बार्सिलोनालाई ३–१ गोलको अग्रता दिलाए ।

खेलको ७३औं मिनेटमा गार्सियाले गोल गर्दैै बेटिसलाई खेलमा फर्काउने प्रयास गरे । तर, खेलको ८२औं मिनेटमा मेस्सीले सर्जियो रोबर्टोको पासमा गोल गर्दै टोलीको अग्रता फराकिलो बनाए ।

९०औं मिनेटमा पेड्रीले रोबर्टोकै असिस्टमा गोल गर्दै बार्सिलोनालाई ५–२ गोलको जित दिलाए ।

जितसँगै बार्सिलोनाले ७ खेलबाट ११ अंक जोडेको छ । ऊ अंक तालिकाको आठौं स्थानमा उक्लिएको छ ।

बेटिस भने १२ अंकका साथ सातौं स्थानमा छ । उसले बार्सिलोनाभन्दा दुई खेल बढी खेलेको छ ।